मिटरब्याज पीडित किसान मजदुर र नेपाल सरकारबीच भएको नौ बुँदे सहमतिमा फर्जी लिखत खारेज हुने विषय उल्लेख भएसँगै यसको फरक फरक चर्चा र चासो सुरु भएको छ ।नेपाल सरकार र मिटरब्याज पीडितबीच भएको सहमतिमा मिटरब्याजसँग सम्बन्धित तमसुक,दृष्टिबन्धक,रजिस्ट्रेशन छिनुवा पास र बाध्यकारी चेकहरू स्वतःअवैध हुने उल्लेख गरिएको छ।तर त्यस्ता तमसुकको पहिचान र खारेजी सहज नभएको जानकारहरु बताउँछन् ।“सरकारले फर्जी तमसुक खारेज गर्ने भनेको छ।फर्जी भनेर प्रमाणित गर्ने कसरी र कसले ?” यसअघि मिटरब्याज समस्या समाधानबारे गठित आयोगको सदस्यसमेत रहेका नेपाल प्रहरीका भूतपूर्व अतिरिक्त प्रहरी महानिरीक्षक उत्तम राज सुवेदीले प्रश्न गरे ।
“कुनै तमसुक फर्जी हो होइन भन्ने आधार भए त अहिले पनि कानुनबमोजिम कारबाही भइहाल्छ।”उनले भने नेपाल सरकार र मिटरब्याज पीडित बीचको सहमतिमा तीन महिनाभित्र नयाँ कानुनको मस्यौदा तयार गर्ने र उक्त कानुनमा मिटरब्याज सम्बन्धी मुद्दा हेर्न छुट्टै न्यायाधिकरण,पीडितको सम्पत्ति फिर्ता र उचित क्षतिपूर्तिको व्यवस्था गरिने उल्लेख गरिएको छ।
अब बन्ने भनिएको कानुनले तमसुकका न्यूनतम मापदण्डबारे परिभाषा गर्नुपर्ने सुवेदीको सुझाव छ।त्यसको परिभाषा नभए व्यक्तिव्यक्तिबीच हुने सामान्य लेनदेनका तमसुकदेखि र्बैँकिङ्ग संस्थासँग हुने लेनदेनका तमसुकसम्म खारेज हुने जोखिम रहने उनले बताए ।खास गरी मिटरब्याज लगाउनेले तमसुक गर्दा नै लेनदेनभन्दा बढी मूल्य राखेर तमसुक गराउने भएका कारण सरकारले तोकेको सीमाभन्दा बढी ब्याज लिएको पहिचान गर्न समेत सहज नभएको मिटरब्याज पीडितको आन्दोलनमा सहजीकरण गरेका अभियानकर्मीहरु बताउँछन् ।
“त्यसकारण तमसुकहरू विधिविज्ञान प्रयोगशालामा परीक्षण गर्ने र ऋण दिनेको सम्पत्तिको स्रोतको खोजी गर्ने कुरा सहमतिमा छ।”उनीहरुले बताए।नेपाल सरकारले मिटरब्याज पीडितसँग वार्ताका लागि बनाएको वार्ता समितिका प्रमुख सह–सचिव पुष्कर सापकोटाले फर्जी तमसुक किटान गरिने बताएका छन्।“कतिपय अदालतले पनि टुङ्गो लगाउँछ।विधिविज्ञान प्रयोगशालामा लगेर पनि प्रमाणित गरिन्छ।परीक्षण भएपछि मात्रै थाहा हुन्छ।”उनले थपे ।

कानुनी संरचना के छ?
नेपालको विद्यमान कानुनले १० प्रतिशतभन्दा बढी ब्याज लिन रोक लगाएको छ।१० प्रतिशतभन्दा बढी ब्याज लिएकै आधारमा फर्जी परिभाषित गर्ने वा नगर्नेबारे समितिले अध्ययन गरिरहेको छ।“ब्याज लिने विषय देवानी प्रकृतिको थियो अर्थात् व्यक्तिले नै मुद्दा हाल्नुपथ्र्यो भने अब फौजदारी प्रकृतिको बनाउन खोजिएको र मिटरब्याज पीडितसँग भएको सहमतिले लेनदेनका लिखतलाई वडा कार्यालयमा लगेर प्रमाणित गराउनुपर्ने अहिलेको कानुनी व्यवस्थालाई पनि प्रोत्साहन गर्ने लक्ष्य राखेको छ।”
मुलुकी देवानी संहिताले रु ५० हजारभन्दा बढीका“कपाली तमसुक”स्थानीय तहबाट प्रमाणित गर्नुपर्ने व्यवस्था गरेको छ।यसअघि विसं २०७८ सालमा बनेको विशेष अदालतका पूर्वअध्यक्ष गौरीबहादुर कार्की नेतृत्वको आयोगको सिफारिसपछि संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले सबै स्थानीय तहलाई पुराना लिखत पनि प्रमाणित गर्न परिपत्र गरेको थियो।
“मिटरब्याजसँग सम्बन्धित जति पनि लिखत छन्,अनिवार्य खारेजीको सर्त प्रमुख हो।ती खारेज नभएसम्म समस्या समाधान हुँदैन।अरू जायज लिखतलाई राज्यले के गर्छ,त्यो उसको प्रणालीले गर्ला।तर संघर्ष समितिको पनि भनाइ जायज लिखत खारेज हुनुहुँदैन भन्ने नै हो।”एक अभियान्ताले बताए ।
“यसअघि कार्कीको नेतृत्वमा गठित आयोगले मिटरब्याज पीडितहरूलाई न्याय दिलाउन र भविष्यमा चर्को ब्याजका नाममा हुने दोहन रोक्न दुई किसिमका सुझाव दिएको थियो।आयोगका सदस्य सुवेदीका अनुसार पुराना लिखत वडामा लगेर प्रमाणित नगरिए मान्यता नपाउने व्यवस्था गर्न आयोगले सिफारिस गरेको थियो।उक्त आयोगको सिफारिस पछि सहायक प्रमुख जिल्ला अधिकारी सहितको प्रतिनिधित्वमा जिल्ला स्तरमा पनि कार्यदलहरू बनेका थिए।उक्त कार्यदलले पुराना लिखतहरूबारे आएका विवादबारे समझदारी गराउने र सहमति नभए प्रचलित कानुन अनुसारका कारबाही अघि बढाउने अधिकार पाएको थियो।
कति छन् पीडित
अभियानकर्मी सरस्वती मिश्रका अनुसार करिब ६० हजार भन्दा धेरै मानिसहरू मिटरब्याजबाट प्रत्यक्ष पीडित छन्।यसबाट प्रभावित मानिसहरूको संख्या अझै ठूलो हुन सक्ने उनी बताउँछिन्।अहिलेसम्म मिटरब्याजको विषय छानबिनका लागि गौरीबहादुर कार्की,तेजबहादुर कार्की र बाबुराम रेग्मीको नेतृत्वमा तीन वटा फरक फरक आयोग गठन भइसकेका छन्।“तीन वटै जाँचबुझ आयोगले निवेदन माग्दा करिब ६० हजार हाराहारीले उजुरी दिएको भन्ने छ तर राज्यले हामीलाई सूचना दिएको छैन।”एक अभियान्ताले बताए ।
वि.सं २०८० मङ्सिरमा गौरीबहादुर नेतृत्वको आयोगले बुझाएको प्रतिवेदन अनुसार ६७ जिल्लाका २८ हजार पीडितले आयोगमा निवेदन दिएका थिए।तीमध्ये पाँच हजार उजुरीमा आयोगले मिलापत्र गरेको बताएको थियो।कतिपय समस्याहरू प्रहरी र जिल्ला प्रशासन कार्यालयमा मात्रै पुगेको र आयोगमा नपुगेको हुन सक्ने अभियान्ताहरुले बताए ।
मिटरब्याजको जड के हो ?
सरकार र मिटरब्याज पीडितबीच भएको सहमतिमा फर्जी लिखत अवैध हुने भनिएको छ।गौरीबहादुर नेतृत्वको आयोगमा सदस्य रहेका सुवेदीका अनुसार तराई–मधेशका धेरै समुदायमा शिक्षा,स्वास्थ्य,रीतिरिवाज र वैदेशिक रोजगारीका लागि मिटरब्याजमा ऋण लिने प्रचलन छ।भड्किला रीतिरिवाज निरुत्साहन र स्वास्थ्य बीमा सुधार सहितका विषयमा आयोगले दिएको सिफारिस कार्यान्वयन नभएको सुवेदीले बताए ।
“वैदेशिक रोजगारी,शिक्षा र बिहाबारीका लागि मिटरब्याजमा ऋण लिने गरेको देखिएको थियो। तराईमा दाइजो प्रथा उन्मूलन हुन सकेको छैन।रीतिरिवाजहरू खर्चिला छन्।”सुवेदी भन्छन्।“बिरामी भयो,अस्पताल जानुप¥यो,पैसा छैन।त्यसमा संस्थागत निकायबाट ऋण पाइँदैन। साहुकहाँ नै जानुपर्ने बाध्यता छ।“तमसुकमार्फत् हुने कारोबारको नियमन र दोषीमाथि कारबाही सहितका विषयमा कानुनको संरचना सिफारिस गर्न गृहकार्य सुरु भइसकेको छ।“तीन महिनाभित्र कानुन बनाउने भनिएको छ।गृह मन्त्रालयले त्यसको मस्यौदा गरेपछि मात्रै त्यसबारे थप टुङ्गो लाग्ने गठित आयोगले जनाएको छ ।
पीडित कति आशावादी
मिटरब्याज पीडितका तर्फबाट वार्तामा सहभागीहरुले यस पटकको सहमतिबाट आफूहरू विगतमा भन्दा धेरै आशावादी बनेका छन्।“त्यहाँबाट पक्ष–विपक्षभन्दा पनि साझा दस्ताबेज बन्यो। यस पटक वार्ता टोली नै मन्त्रिपरिषद्ले बनायो र प्रधानमन्त्री कार्यालयको मूल नेतृत्व गरेका मुख्यसचिव आफैँ वार्तामा बस्नुभयो।“अहिलेको सरकारसँग यसअघिका सरकारभन्दा धेरै इच्छाशक्ति देखिएको पीडितहरूको बुझाइ रहेको एक अभियान्ताले बताए ।सरकारसँग भएको सहमतिपछि कतिपय जिल्लामा साहुहरूले प्रदर्शन गरेका विवरण आएका थिए।“दस्ताबेज राम्रो बनेको छ।सहमति राम्रो भएको छ।कार्यान्वयनमा हिजोको तरिका दोहोरिन्छ कि भन्ने चिन्ता चाहिँ कायमै रहेको पीडितहरुले बताएका छन् ।