करिब १२ वर्षदेखि वन्द विराटनगर जुट मिल राजनीतिक प्रवेश र राज्यको उदासीनताका भगनावशेष अवस्थामा परिणत

229 Shares

मोरङको विराटनगर उपमहानगरपालिका–१६ स्थित मिल्स यरियामा रहेको नेपालकै पहिलो र ठूलो विराटनगर जुट मिल राजनीतिक प्रवेश र राज्यको उदासीनताका कारण पुर्ण रुपमा बन्द मात्रै नभई भगनावशेष अवस्थामा छ।वि.सं. १९९३ मा स्थापना भएको नेपालकै पहिलो र ठुलो जुट उद्योग राजनीतिक प्रवेश गर्दा तथा राज्यको उदासीनताका कारण २०७१ सालदेखि पुर्ण रुपमा बन्द भएपछि अहिले भगनावशेष अवस्थामा परिणत भएको हो ।करिब १० हजार जना मजदुरलाई रोजगारी दिई उनीहरुका करिब ४० हजार परिवारलाई बचाउने र करिब ६० हजार मेट्रिक टन जुट उत्पादन गर्ने उद्योगबाट २००३ सालमा मजदुर हडतालका नाममा सुरु भएको क्रान्तिले राणा शासनको अन्त्य गरेको मानिन्छ। 
इतिहाँस बोकेको यस उद्योगलाई २०५९ साल भदौ १८ मा अरिहन्त मल्टी फाइबर्सलाई उत्त उद्योग भाडामा दिएको भएपनि पाँच वर्षको सम्झौता गरेको सो कम्पनीले पनि पटक–पटक उद्योग बन्द गर्दै २०६२ सालमा उद्योग छोडेर हिडेको थियो।त्यसपछि पटक–पटक बन्द र संचालन हुँदै आएको उद्योगको जिम्मा पछिल्लो समय भारतीय कम्पनी बिम सम इन्टरनेसनलले पाएको थियो।  
वार्षिक रु एक करोड ३५ लाख भुत्तानी गर्ने गरी उक्त कम्पनीले नेपाल सरकारसँग सम्झैता गरेको थियो।सम्झौता भएदेखि ११ महिना १९ दिन मात्र उद्योग संचालन गरेर कम्पनीले २०७१ भदौ १९ मा उद्योग बन्द गरेपछि हालसम्म पनि यो उद्योग सञ्चालनमा आउन सकेको छैन। सम्झौता अनुसार नेपाल सरकारले दिने भनेको ३३ केभिए विद्युत प्रसारण लाईन उपलब्ध हुन नसकेको कारण आफूले काम गर्न नसकेको भन्दै ठेकेदार कम्पनी बाहिरिएको थियो। 
त्यसपछि नेपाल सरकारले जाँचबुझ आयोग गठन गरेर विराटनगर जुटमिल बन्द भएपछि पनि शंकास्पद रूपमा एक हजार ८१ जना कर्मचारी खडा गरेर रु ५५ करोड ९२ लाख वितरण गरेको सवालमा छानविन गरी प्रतिवेदन पेश गरेको थियो।तर त्यस उपर सरकारले कुनै कारबाही नगरेको पाइएको छ।विराटनगर उच्च अदालतका न्यायाधीश शेखर प्रसाद पौडेलको नेतृत्वमा गठन भएको आयोगले जुटमिलको अनियमितताका सवालमा प्रतिवेदन दिएको भएपनि तत्कालीन सरकारले कुनै कार्बाही नगरेका कारण अनियमितता गर्नेहरुको मनोवल बढी रहेको छ ।
उद्योगले कर्मचारीलाई अन्तिम बिदाइ गर्न रु ५५ करोड ९२ लाख सरकारी बजेटबाट निकासा भएको भएपनि कति कर्मचारी र मजदुर उद्योगमा स्थायी थिए ? कहिलेबाट स्थायी भए ? भन्ने खोजतलास हुँदा तीन सय ३४ जना मजदुर २०६४ असार ३२ देखि स्थायी भएका र अन्य कर्मचारीका लगत फेला नपरेको आयोगको प्रतिवेदनमा उल्लेख छ।कर्मचारीलाई बिदाइ गर्न सुरुमा रु ४० करोड १७ लाख दिएको र त्यति गर्दा पनि ५४ जनाको छुटेको भन्दै थप रकम वितरण गरिएको थियो ।अझ पनि पाँच सय ९४ मजदुर छुटेको भन्दै थप रकम वितरण गरिएको तर जाँचबुझ आयोगले सुरुमा वितरण गरिएको रु ४० करोडको हिसाबमा समेत अनियमितता भएको आशंका व्यक्त गरेको थियो ।
पाँच सय ९४ मजदुर छुटेको भनेर उनीहरूको नाममा उपदान निकालिएको तर बाँकी रहेको तलब,घरभाडा,भत्ता,सञ्चयकोष निकाल्दा चार सय ३७ मजदुर मात्रै छुटेको भन्दै थप पैसा निकालिएको पाइएको प्रतिवेदनमा उल्लेख छ ।कहिले पाँच सय ९४ र कहिले चार सय ३७ भन्दै मनपरी पैसा खर्च गरिएको छ ।यसरी पैसा निकाल्दा कुनै प्रमाणित लिखत,कागज र अभिलेख समेत उपलब्ध नहुँदा भुक्तानी गरिएको रकमलाई कानुनसम्मत मान्न सकिने अवस्था नदेखिएको प्रतिवेदनले भनेको छ।
२०६९ पुस २३ मा मन्त्रीस्तरीय निर्णय गरी जग्गा व्यक्तिको नाममा बनाउन वैधानिक रूपमा भूमिका खेलेको भन्दै तत्कालीन उद्योगमन्त्री अनिल झालाई कारबाही गर्न अख्तियारमा सिफारिस समेत भएको थियो।तत्कालीन मन्त्री झाले विराटनगर जुटमिल सञ्चालक समितिको निर्णयलाई छलेर आफैँले मन्त्रीस्तरीय निर्णय गरी २०६९ पुस २३ मा जुटमिलका संरचना भत्काएर मिलको जग्गा व्यक्तिलाई दिलाउन भूमिका खेलेका थिए । 
यता,उद्योग ठेक्का लिने कम्पनीले उद्योगमा जडित जापनिज ब्राण्डका मेसिनहरु चोरेर अन्यन्त्र पुर्याएको समेत पाईएको छ।भने उद्योगले आन्तरिक राजस्व कार्यालय विराटनगरका साथै उद्योगको जग्गाको मालपोत समेत नतिरेको पाइएको छ ।२०३६ सालदेखि २०५७ साल सम्मको आयकर रु एक करोड ७७ लाख,२०७० सालसम्मको मूल्य अभिवृद्धि कर रु नौ लाख र आ.व २०४२ देखि २०५२ सम्मको बिक्री कर रु तीन करोड उद्योगले आन्तरिक राजस्व कार्यालयलाई तिर्न बाँकी रहेको छ।नेपाल बैंकमा मात्रै साँवा र ब्याज गरी रु एक अर्ब ५५ करोड भुक्तान गर्न बाँकी देखिएको छ।
कूल ऋणमध्ये रु एक अर्ब ८० करोड ब्याज मात्र भएको पाईएको छ।२०३६ सालदेखि कुनै पनि कर नतिरेको उद्योगले कर मात्र रु १७ करोडभन्दा बढी बुझाउन बाँकी रहेको छ।राज्यको पुर्ण  स्वामित्वमा रहेको यो उद्योगको परिसरमा मात्रै ७२ बिघा जग्गा रहेको भए पनि हाल अतिक्रमण पछि करिब ६४ बिघा जग्गा मात्रै उद्योगको देखिएको छ तर त्यो जग्गाको पनि मालपोत राजस्व मात्रै रु ७६ लाख उद्योगले बुझाउन बाँकी रहेको पाईएको छ। यसैगरी,वि.स. २०४८ सालमा शेयर सदस्यको साधारण सभाले सञ्चालक समिति गठन गरेको भएपनि त्यसपछि एकैपटक २०६५ सालमा साधारण सभा भएको थियो।उद्योगको अध्यक्ष लगायत सञ्चालक समितिका सदस्य भने मन्त्रिपरिषद्ले राजनीतिक नियुक्त गर्ने प्रचलन रहेका कारण यो उद्योग राजनीतिले खायो भन्दा फरक नपर्ने स्थानीय बताउँछन् ।
जुट मिलमा राजनीति प्रवेश गरेकै कारण मिल अघि बढ्न नसकेको हो।भने त्यहाँ काम गरेका र हाल पनि हेरालुको रुपमा काम गरि रहेका मजदुरहरुले तलब नपाएको गुनासो गरेका छन् ।यसको अलावा उद्योग सञ्चालन हुँदा उद्योग परिसरमा रहेको अस्पताल सहितको क्षेत्र अहिले अतिक्रमणको चपेटामा परेको छ ।केही भाग स्थानीयले अतिक्रमण गरेका छन भने केही भाग सशस्त्र प्रहरी बल नेपाल सीमा सुरक्षा गुल्म रानीले अतिक्रमण गरेको स्थानीयले बताए ।
यसका साथै उद्योगको बाहिर तर्फ रहेका ३८ वटा स्टलहरुको भाडा पनि सोही उद्योगमा पहिला चौकीदार गर्ने व्यक्तिगत उठाउने गरेका पाईएको छ ।३८ वटा स्टलहरु मध्य तीन वटा स्टलबाट मासिक रु दुई हजारका दरले र बाँकी ३५ वटा स्टलबाट मासिक छ सयका दरले ती पुर्व कर्मचारीले भाडा असुली रहेका छन्।स्थायी र हेरालु गरि छ जना कर्मचारी कार्यरत रहेका उक्त उद्योगका सामानहरु समय समयमा चोरी भई रहने गरेको,बन्द अवस्थामा रहेको उद्योग परिसर झाडिले ढाकिएको,उद्योगको कम्पाण्ड पर्खाल भत्कीँदा चौकीदारले असुरक्षित भएर काम गरि रहनु पर्ने बाध्यता रहेको समेत पाइएको छ ।
“उत्पादन बढाऔँ मिल जोगाऔँ,वेस्टेज घटाऔँ,नोक्सानी हटाऔँ”भन्ने सुन्दर नारा लेखिएको विराटनगर जुट मिल राजनीति प्रवेश र राज्यको उदासीनताका कारण बन्द र भगनावशेष बनेको भएपनि राज्यपक्षबाट कुनै किसिमको पहल नभएको र गुमेको सरकारी राजश्व कहिले र कसले तिर्ने ?गुमेको जग्गा कहिले फिर्ता हुने र संस्थाको भाडा व्यक्तिले कहिले सम्म असुल्ने भन्ने प्रश्नै प्रश्न खडा भएका स्थानीयको भनाई छ ।

सम्बन्धित समाचार