नेपाली कांग्रेसका निवर्तमान सभापति शेरबहादुर देउवा समूहले काठमाडौँमा सुरु गरेको राष्ट्रिय भेलामा सर्लाहीबाट पुराना नेताहरुहरुको उपस्थिति नरहेको पाइएको छ।यसअघि देउवा समूहमै रहेका जिल्लाका प्रमुख नेताहरु देउवाले आयोजना गरेको भेलामा सहभागी नभएका पाइएको हो।
तर महाधिवेशन प्रतिनिधि सुरेन्द्र प्रसाद न्यौपाने सहित केही युवा नेताहरु कार्यक्रममा गएका पाइएको छ ।भेलामा पुराना नेताहरु नभए पनि युवाहरुको उल्लेख्य उपस्थिति रहेको न्यौपानेले बताए । सर्लाहीमा यसअघि देउवा समूहमा रहेका कार्यवाहक जिल्ला सभापति डा.सरोज कुमार राय यादव,पूर्व जिल्ला सभापति सुरेन्द्र प्रसाद सिंह,मधेश प्रदेश उपसभापति वीरेन्द्र प्रसाद सिंह फागुन २१ को निर्वाचनअघि देखि नै पार्टी सभापति गगन कुमार थापाको समूहमा सक्रिय भएका छन् ।
काठमाठौँमा जारी देउवा समूहको राष्ट्रिय भेलामा नेता डा.शेखर कोइरालासमेत सहभागी भए पनि सर्लाहीमा रहेका उनी निकटका नेताहरु पूर्व जिल्ला सभापति लक्ष्मण राय,संविधान सभा सदस्य रामचन्द्र चौधरीलगायतका नेताहरु पनि भेलामा नगएका पाइएको हो।संविधान सभा सदस्य शम्भुलाल श्रेष्ठ थापा समूहबाट केन्द्रीय सदस्य नै बनिसकेका छन्।हरिबहादुर लुंगेली, कौशल किशोर राय,निरज कार्कीलगायत कांग्रेस सर्लाहीका अगुवा नेताहरु पनि राष्ट्रिय भेलामा सहभागी हुन नगएका पाइएको हो ।
इतर समूहको भेलामा सहभागी नभएको हिसाबले सर्लाहीमा नेपाली कांग्रेसका अधिकांश पुराना तथा हाल नेतृत्व तहका नेताहरु पार्टी सभापति थापाको पक्षमा रहेको प्रष्ट भएको छ । नेपाली कांग्रेस सर्लाहीका कार्यवाहक सभापति डा.सरोजले काठमाडौँमा भइरहेको राष्ट्रिय भेलाबारे जानकारी नरहेको बताए ।
पार्टी केन्द्रीय कार्यालय सानेपामा केन्द्रीय कार्य समितिको बैठक जारी रहेकाले आफू सोही बैठकमा सहभागी हुने र आगामी दिनमा पार्टीलाई कसरी अघि बढाउने भन्ने विषयमा केन्द्रीय नेताहरु छलफलमा सहभागी भइरहेकाले देउवा समुहको भेलाको कुनै मतलब नरहेको डा.सरोजले बताए ।