डिभिजन वन कार्यालय गाईघाटका वन अधिकृत पौडेल १६ हजार बढी घुस रकम सहित रंगेहात पक्राउ

218 Shares

डिभिजन वन कार्यालय गाईघाट उदयपुरका वन अधिकृतलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय इटहरीको टोलीले घुस रकम सहित नियन्त्रणमा लिएको छ।डिभिज वन कार्यालय गाईघाट उदयपुरको योजना शाखामा कार्यरत वन अधिकृत भुवन पौडेललाई  अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय इटहरीबाट खटिएको टोलीले रु १६ हजार दुई सय ५० नगदसहित कार्यकक्षबाट बिहीबार नियन्त्रणमा लिएको हो ।
विशेष सूचनाका आधारमा खटिएको अख्तियारको टोलीले बिहीबार दिउँसो पौडेललाई त्रियुगा नगरपालिका– १४ को एक सामुदायिक वन उपभोक्ता समूहबाट लिएको घुस रकमसहित नियन्त्रणमा लिएको जिल्ला प्रशासन कार्यालय उदयपुरले जनाएको छ।अख्तियारको टोलीले कार्यालयमै निगरानी बढाएर रकमसहित उनलाई नियन्त्रणमा लिएको जनाएको छ ।
पक्राउ परेका पौडेलमाथि एक सामुदायिक वन उपभोक्ता समूहसँग सम्बन्धित काम सहज रूपमा गराइदिने भन्दै रकम मागेको आरोप छ ।अख्तियारको टोलीले घटनासँग सम्बन्धित थप विवरण र प्रमाण संकलन गर्ने तथा आवश्यक अनुसन्धान अघि बढाउने जनाएको उदयपुरका प्रमुख जिल्ला अधिकारी मेखबहादुर मंग्रातीले जानकारी दिए ।
डिभिजन वन कार्यालय गाईघाट उदयपुरका केही कर्मचारीहरुले उपभोक्ता समूह तथा सेवाग्राहीहरुसँग काम सहज बनाइदिने बहानामा रकम माग्ने गरेको गुनासो पछिल्लो केही महिनादेखि चर्चामा थियो।वनसम्बन्धी काममा अनावश्यक झन्झट सिर्जना गरी रकम असुल्ने गरेको आरोप समेत सेवाग्राहीहरुबाट आउने गरेको छ।घुससहित वन अधिकृत पक्राउ परेपछि डिभिजन वन कार्यालय गाईघाट उदयपुरमा हुने सेवा प्रवाह र कर्मचारीको कार्यशैलीमाथि समेत प्रश्न उठेको छ । 
यता,साउनमा मात्रै योजना शाखामा गएका वन अधिकृत पौडेल आर्थिक मामिलामा नजोडिने स्वभावका कर्मचारी रहेका र अचानक पक्राउ गरिएपछि आफुपनि आश्चर्यमा परेको डिभिजन वन कार्यालय गाईघाट उदयपुरका डिभिजनल वन अधिकृत एवम प्रमुख गजेन्द्र कुमार श्रेष्ठले बताए ।पक्राउ परेका पौडेलमाथिको आरोपका सवालमा अख्तियारको विस्तृत अनुसन्धान र कानुनी प्रक्रियाबाट थप तथ्य खुल्ने जिल्ला प्रशासन कार्यालय उदयपुरको भनाइ छ ।

सम्बन्धित समाचार