सर्लाहीको हरिवन नगरपालिका ३ डावरीमा सार्वजनिक सुनुवाइ तथा स्थानीय तहमा शान्ति सुरक्षा,अपराध तथा लागु औंषध नियन्त्रण र सेवा प्रवाह सम्बन्धि कार्यक्रम सम्पन्न भएको छ ।हरिवन नगरपालिका सहित जिल्ला प्रशासन कार्यालय र जिल्ला प्रहरी कार्यालय सर्लाहीको संयुक्त आयोजनामा हरिवन नगरपालिका ३ डावरीमा नागरिक सुनुवाइ तथा स्थानीय तहमा शान्ति सुरक्षा,अपराध तथा लागु औंषध नियन्त्रण र सेवा प्रवाह सम्बन्धि सार्वजनिक सुनुवाइ कार्यक्रम सम्पन्न भएको हो ।
कार्यक्रममा नागरिकहरुले राखेका जिज्ञासाको जवाफ दिने क्रममा हरिवन नगरपालिकाका नगर प्रमुख रमेश बुढाथोकी(कमल)ले मलखाद वितरणमा दामासाही प्रणाली बेठिक भएको,डावरी बजार मिनि सोनवरसा हुनबाट जोगाउन यहाँका स्थानीय नै सक्रिय हुनु पर्ने र नयाँ मानिस आउना साथ सचेतताका साथ प्रहरीलाई जानकारी दिन स्थानीयसंग अनुरोध गरे ।

कार्यक्रमका प्रमुख अतिथि समेत रहेका नगर प्रमुख बुढाथोकीले सीप नभएकोले गैर कानुनी कार्यमा लाग्ने मानिसहरुलाई ईच्छा अनुसार नगरपालिकाले सीप सिकाउन तयार रहेको प्रतिवद्धता जनाउँदै गैर कानुनी कार्यबाट लिईने लाभ क्षणिक मात्रै हुने नगर प्रमुख बुढाथोकीले बताए।उनले वर्तमान यथार्थको डावरीलाई कथामा पुर्याउन स्थानीय नागरिकहरु र जनप्रतिनिधिहरु सक्रिय हुन आवश्यक समेत बताए ।
त्यस्तै,प्रमुख जिल्ला अधिकारी विजयराज सुवेदीले समस्या साधानका लागि स्थानीयस्तरबाटै सक्रियता देखाउन आवश्यक रहेको र प्रहरीले कमाण्ड यरिया जानकारी लिइ यथासिघ्र सुरक्षा प्रवन्ध गर्नु पर्ने बताए ।उनले जनशक्ति अभावले बजार अनुगमन तथा कार्वाही चाहे जति गर्न नसकेको स्वीकार गर्दै नेपाली नागरिकले नागरिकता पाउनबाट बञ्चित हुनु पर्ने अवस्था नआउने समेत बताए ।

यता,नागरिकहरुले उठाएका प्रश्नमा जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रहरी प्रमुख एवम् प्रहरी उपरीक्षक रविन्द्रनाथ पौडेलले प्रहरीले निःशुल्क सेवा प्रवाह गरि रहेको र प्रहरी कर्मचारीहरुले कुनै शुल्क रकम लिएको पाईए प्रमाण सहित जिल्ला प्रहरी कार्यालयलाई जानकारी गराउनु आग्रह गरे।उनले प्रमाण फेला परेमा कार्बाही गर्ने प्रतिवद्धता जनाउँदै नागरिकको सहयोग विना कुनै पनि गतिविधि सुधार गर्न प्रहरी एक्लै सफल नहुने भएकोले सबैले सहयोग गर्न पनि आग्रह गरे ।
सर्लाहीको सोनवरसा अर्थात मिनी सोनवरसाकौ रुपमा पहिचान बनाएको डावरीमा आयोजना गरिएको कार्यक्रममा हरिवन नगरपालिकाका नगर प्रमुख बुढाथोकी र उप प्रमुख हरिमाया घलान सहित प्रमुख जिल्ला अधिकारी सुवेदी,जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रहरी प्रमुख एवम प्रहरी उपरीक्षक पौडेल,हरिवन नगरपालिका १ वडा अध्यक्ष टम बहादुर घिसिङ,हरिवन २ का वडा अध्यक्ष अर्जुन योञ्जन र हरिवन ३ का वडा अध्यक्ष दिपमान लोप्चन लगायतको विशेष उपस्थिति रहेको थियो ।