सर्लाहीको लालबन्दी नगरपालिका –१ नवलपुर स्थित रहेको नवलपुर कृषि वजार व्यवस्थापन समिति विघटनका सवालमा लालबन्दी नगरपालिकाको पक्षमा उच्च अदालत जनकपुरले आदेश गरेको छ । स्थानीय शेखर कुमार दासले समिति विघटनका विरुद्ध लालबन्दी नगरपालिका सहित विभिन्न सरकारी कार्यालयलाई विपक्षी बनाई उच्च अदालत जनकपुरमा पेश गरेको निवेदन उपर उच्च अदालत जनकपुरका न्यायधीशद्धय निर्मला शाक्य र टिकाराम आचार्यले निवेदकको माग बमोजिम अन्तरिम आदेश जारी गर्नुपर्ने अवस्थाको विद्यमानता नदेखिएको भन्दै नियमानुसार गर्न उत्पेषण मिश्रित परमादेश जारी गरेका छन् ।
अन्तरिम आदेशको छलफलको लागि पेस भएको निवेदन र मिसिल अध्ययन गरी निवेदकको तर्फबाट उपस्थित भएका अधिवक्ता हेमबहादुर कार्की तथा नवजिवन विद्याश्रम मा.वि. लालबन्दी नगरपालिका–२, जुटपानीको तर्फबाट उपस्थित अधिवक्ता विपिन कुमार झा र विपक्षी लालबन्दी नगरपालिकाको तर्फबाट उपस्थित अधिवक्ता उमेश भट्टराईले गरेको बहस समेतका आधारमा २०७१ असार १७ मा भएको सम्झौता एवं साविकमा कृषि विकास मन्त्रीस्तरीय निर्णयबाट जारी भएको कृषि वजार विकास तथा व्यवस्थापन निर्देशिका २०७३ लाई आधार बनाई रिट दायर गरेको पाइएकोमा संविधानको अनुसुची ८ एवं स्थानीय सरकार सञ्चालन ऐन, २०७४ को दफा ११(२) (ञ) मा भएको व्यवस्था समेतको परिपेक्ष्यमा माग बमोजिम अन्तरिम आदेश जारी गर्नुपर्ने अवस्थाको विद्यमानता नदेखिएकाले नियमानुसार गर्न न्यायधीशद्धय शाक्य र आचार्यले आदेश गरेका नवजिवन विद्याश्रम मा.वि.लालबन्दी नगरपालिका–२, जुटपानीले जनाएको छ ।
नेपालको संविधान २०७२ को अनुसुची ८ मा के छ ?
नगर प्रहरी,सहकारी संस्था,एफ.एम सञ्चालन,स्थानीय कर (सम्पत्ति कर, घर बहाल कर,घर जग्गा रजिष्ट्रेशन शुल्क,सवारी साधन कर) ,सेवा शुल्क दस्तुर,पर्यटन शुल्क, विज्ञापन कर, व्यवसाय कर,भूमिकर (मालपोत),दण्ड जरिवाना, मनोरञ्जन कर,मालपोत संकलनका साथै स्थानीय सेवाको व्यवस्थापन, स्थानीय तथ्यांक र अभिलेख संकलन, स्थानीय स्तरका विकास आयोजना तथा परियोजनाहरू,आधारभूत र माध्यमिक शिक्षा,आधारभूत स्वास्थ्य र सरसफाइ,स्थानीय बजार व्यवस्थापन,वातावरण संरक्षण र जैविक विविधताका साथै स्थानीय सडक,ग्रामीण सडक,कृषि सडक, सिंचाइ,गाउँ सभा,नगर सभा,जिल्ला सभा,स्थानीय अदालत,मेलमिलाप र मध्यस्थताको व्यवस्थापन,स्थानीय अभिलेख व्यवस्थापन,घर जग्गा धनी पुर्जा वितरण,कृषि तथा पशु पालन,कृषि उत्पादन व्यवस्थापन, पशु स्वास्थ्य,सहकारी, ज्येष्ठ नागरिक,अपांगता भएका व्यक्ति र अशक्तहरूको व्यवस्थापन, बेरोजगारको तथ्यांक संकलन,कृषि प्रसारको व्यवस्थापन, संचालन र नियन्त्रण,खानेपानी,साना जलविद्युत आयोजना,वैकल्पिक ऊर्जा,विपद व्यवस्थापन जलाधार,वन्यजन्तु, खानी तथा खनिज पदार्थको संरक्षण,भाषा,संस्कृति र ललितकलाको संरक्षण र विकास स्थानीय तहको अधिकारको सूचीमा सामावेश गरिएको छ ।
स्थानीय सरकार सञ्चालन ऐन,२०७४ को दफा ११(२) (ञ) मा के छ व्यवस्था ?
स्थानीय व्यापार,वस्तुको माग–आपूर्ति तथा अनुगमन,उपभोक्ता अधिकार तथा हितसम्बन्धी नीति, कानून र मापदण्ड निर्माण तथा कार्यान्वयन,बजार तथा हाटबजार व्यवस्थापन,स्थानीय वस्तुको उत्पादन,आपूर्ति तथा निकासीको प्रक्षेपण,मूल्य निर्धारण र अनुगमन,उपभोक्ता सचेतना अभिवृद्धि तथा स्थानीय वस्तु तथा सेवाको गुणस्तर परीक्षण,वातावरण संरक्षण र जैविक विविधतासम्बन्धी स्थानीय नीति,कानून,मापदण्ड तथा योजना तर्जुमा र कार्यान्वयन,स्थानीयस्तरमा वातावरणीय जोखिम न्यूनीकरण,जनस्वास्थ्यमा प्रतिकूल असर पर्ने उपभोग्य वस्तु,वातावरणीय प्रदूषण तथा हानिकारक पदार्थको नियन्त्रण,अनुगमन र नियमन तथा स्थानीयस्तरमा सरसफाइ तथा फोहोर मैला व्यवस्थापन गर्ने अधिकार स्थानीय सरकारलाई रहेको उल्लेख छ ।