सिन्धुलीका महिला अधिकारकर्मीहरुद्धारा महिला–बालबालिका हिंसा विरुद्ध सातबुँदे माग

124 Shares

सिन्धुलीका महिला अधिकारकर्मी तथा सामाजिक संस्थाका प्रतिनिधिले महिला र बालबालिका माथि हुने हिंसा नियन्त्रण,अनुसन्धानमा निष्पक्षता तथा पीडितलाई शीघ्र न्याय सुनिश्चित गर्न सरकार समक्ष सातबुँदे माग राखेका छन्।उनीहरूले जिल्ला प्रशासन कार्यालय,सिन्धुली मार्फत गृह मन्त्रालयको ध्यानाकर्षण गराउँदै ज्ञापन–पत्र बुझाएका हुन् ।
नेपालको संविधानले प्रत्येक नागरिकलाई जीवन,सुरक्षा,समानता र सम्मानपूर्वक बाँच्न पाउने मौलिक हक सुनिश्चित गरेको ज्ञापन–पत्रमा उल्लेख गरिएको छ।बालबालिकाको सर्वोत्तम हित तथा महिलाको हिंसामुक्त जीवन राज्यको संवैधानिक दायित्व भए पनि पछिल्लो समय देशका विभिन्न स्थानमा महिला र बालबालिकामाथि बलात्कार,हत्या तथा लैङ्गिक हिंसाका घटना दोहोरिँदा समाजमा असुरक्षा बढेको उनीहरूको भनाइ छ ।
बाराको जीतपुरसिमरा उपमहानगरपालिका–१ की तीन वर्षीया बालिका गरिमा चौधरीमाथि छिमेकीबाट बलात्कारपछि भएको हत्या,सप्तरीकी दुई वर्षीया बालिका खुसी खातुनको आफ्नै सौतेनी आमाबाट भएको हत्या तथा सिन्धुलीको गोलन्जोर गाउँपालिका–६ की बालिका माथि भएको बलात्कार प्रकरण ज्ञापन–पत्रमा उल्लेख गरिएको छ।पीडक पक्राउ परेपछि छुटाइएको घटनाले अनुसन्धान र न्याय प्रणालीप्रति गम्भीर प्रश्न उठाएको उनीहरूले बताएका छन् ।
आर्थिक वर्ष २०८२÷०८३ मा सिन्धुलीमा एक सय एक जना बालबालिका र एक सय ३१ जना महिला हराएका र सोही अवधिमा २० वटा बलात्कार,तीन वटा बलात्कार प्रयास,चार वटा बाल यौन दुव्र्यवहार तथा एक ससय १७ वटा घरेलु हिंसाका घटना प्रहरीमा दर्ता भएका ज्ञापन–¬पत्रमा उल्लेख गरिएको छ ।
तथ्यांक केवल संख्या नभई सुरक्षा,न्याय र राज्यको उत्तरदायित्वमाथिको चुनौती भएको अधिकारकर्मीहरूको निष्कर्ष छ।उनीहरूले अनुसन्धानमा हुने ढिलाइ,प्रमाण संकलनको कमजोरी, राजनीतिक वा सामाजिक दबाब तथा अभियोजन प्रक्रियाको सुस्तताले दण्डहीनतालाई बढावा दिएको आरोप लगाएका छन्।बालबालिका पीडित भएका घटनामा शून्य सहनशीलताको नीति प्रभावकारी रूपमा कार्यान्वयन हुन नसकेको भन्दै तत्काल सुधारको ज्ञापन–¬पत्र मार्फत माग गरिएको छ ।
ज्ञापन–पत्रमा“महिला तथा बालबालिकामाथि भएका बलात्कार,हत्या तथा यौनजन्य हिंसाका सबै आरोपीलाई तत्काल पक्राउ गरी प्रचलित कानुन बमोजिम अधिकतम सजाय सुनिश्चित गर्नुपर्ने, पीडित सम्बन्धी घटनामा राजनीतिक,सामाजिक,आर्थिक तथा अन्य प्रभावबाट मुक्त निष्पक्ष, वैज्ञानिक र समयबद्ध अनुसन्धान गर्नुपर्ने,घटनामा प्रत्यक्ष वा अप्रत्यक्ष रूपमा संलग्न, प्रमाण लुकाउने वा अपराधीलाई संरक्षण गर्ने व्यक्तिलाई कानुनी दायरामा ल्याउनुपर्ने” लगायतका माग ज्ञापन–पत्रमा उल्ल्लेख गरिएको छ ।
यस्तै,महिला तथा बालबालिका हराउने घटनाको खोजतलास,उद्धार र पुनःस्थापनालाई उच्च प्राथमिकता दिई प्रभावकारी संयन्त्र निर्माण गर्नुपर्ने,प्रत्येक जिल्लामा लैङ्गिक हिंसा नियन्त्रण, पीडित संरक्षण,मनोसामाजिक परामर्श तथा कानुनी सहायता सेवा सुदृढ बनाउनुपर्ने माग गरिएको छ।अनुसन्धानमा ढिलासुस्ती वा लापरबाही गर्ने जिम्मेवार अधिकारीमाथि आवश्यक कानुनी कारबाही गर्नुपर्ने तथा विद्यालय,क्याम्पस,समुदाय,स्थानीय सरोकारवाला र स्थानीय तहसँग समन्वय गरी बाल संरक्षण तथा लैङ्गिक हिंसा न्यूनीकरण सम्बन्धी व्यापक सचेतनामूलक कार्यक्रम सञ्चालन गर्नुपर्ने ज्ञापन–पत्र मार्र्फत माग गरिएको छ।
ज्ञापन–पत्रमा महिला तथा बालबालिकाको सुरक्षा कुनै एक संस्था वा समुदायको मात्र सरोकार नभई लोकतान्त्रिक राज्यको आधारभूत जिम्मेवारी भएको उल्लेख छ।न्यायमा ढिलाइ हुनु न्यायबाट वञ्चित हुनु हो भन्ने मान्यताअनुसार पीडितलाई शीघ्र,निष्पक्ष र प्रभावकारी न्याय दिलाउन सरकारसँग उनीहरुले आग्रह गरेका छन् ।
अन्तरपार्टी महिला सञ्जाल सिन्धुलीकी अध्यक्ष कुमारी शान्ता पाख्रिन,नेपाल महिला संघ, सिन्धुलीकी सभापति गंगा दाहाल,अखिल नेपाल महिला संघ(अनेमसंघ)सिन्धुलीकी उपाध्यक्ष तुलसा देवकोटा,अखिल नेपाल महिला संगठन सिन्धुलीकी इन्चार्ज सविता कोइराला,महिला मानव अधिकार रक्षक सञ्जालकी अध्यक्ष विमला पाण्डे र क्रियाशील पत्रकार महिला सिन्धुलीकी अध्यक्ष राधिका बुढाथोकी लगायत महिला अधिकारका लागि राष्ट्रिय अभियान सिन्धुलीकी अध्यक्ष उषा स्याङतानले हस्ताक्षर गरि सहायक प्रमुख जिल्ला अधिकारी मार्फत गृह मन्त्रालयलाई ज्ञापन–पत्र बुझाएका हुन ।

सम्बन्धित समाचार