सर्लाहीको लालबन्दी नगरपालिका –१० चन्द्रपुरलाई नेपालको दोस्रो मर्यादित महिनावारी मैत्री वडा घोषणा गरिने भएको छ।लालबन्दी नगरपालिका–१० कार्यालय र बाल संरक्षण संस्था लालबन्दीले बिहीबार लालबन्दी नगरपालिका–१० लाई देश भरमै दोस्रो मर्यादित महिनावारी मैत्री वडा घोषणा गर्न लागेको लालबन्दी नगरपालिका–१० का वडाध्यक्ष टोपबहादुर श्रेष्ठले जानकारी दिए।उनका अनुसार वडाभित्र महिनावारी हुँदा महिलामाथि हुने विभेद र छुवाछुत अन्त्य भएकाले वडालाई मर्यादित महिनावारी मैत्री वडा घोषणा गर्न लागिएको हो ।
वडाभित्र प्रत्येक घर–परिवारमा महिनावारी हुँदा विभेद र बार्ने चलन रोकिएको लालबन्दी नगरपालिका–१० का वडाध्यक्ष श्रेष्ठले दाबी गरे।महिला महिनावारी हुँदा गरिने विभेद अन्त्यका लागि लागि वडा कार्यालयले विगत तीन वर्षदेखि राधा पौडेल फाउन्डेसन र बाल संरक्षण संस्था लालबन्दीसँग समन्वय गरी सचेतनामूलक अभियान संचालन गर्दै आइरहेको थियो।
“यौन तथा प्रजनन स्वास्थ्य अधिकारका लागि मर्यादित महिनावारी”परियोजना अन्तर्गत यसअघि गत बैशाख ११ गते लालबन्दी नगरपालिका–३ जब्दीलाई नेपालकै पहिलो मर्यादित महिनावारी मैत्री वडा घोषणा गरिएको बाल संरक्षण संस्था लालबन्दीले जनाएको छ ।प्रत्येक घरमा गएर सर्भे गर्दा लालबन्दी नगरपालिका–१० का सम्पूर्ण महिलाले महिनावारीको समयमा कुनै विभेद र छुवाछुत भोग्न नपरेको दाबी गर्दै नेपाल सरकारले बनाएको अन्य आवश्यक सूचक समेत पूरा गरेर मर्यादित महिनावारी मैत्री वडा घोषणा गर्न लागिएको बाल संरक्षण संस्था लालबन्दीकी अध्यक्ष राधा घिमिरेले बताईन।
महिलामा प्राकृतिक प्रक्रियाकै रुपमा नियमित हुने महिनावारीलाई सामान्य विषय हो भनी बुझाएर विभेद तथा भेदभाव चिर्न सफल भएको परियोजनाकी संयोजक सम्झना धितालले जानकारी दिईन्।यससंगै लालबन्दी नगरपालिकाका दुई वटा वडा मर्यादित महिनावारी मैत्री वडा घोषणा हुने भएका हुन ।