नेपालीहरूको महान् चाडपर्व नजिकिँदै जाँदा सर्लाहीका बजारहरुमा फूल–मालाको कारोबार बढ्न थालेको छ।तर प्राकृतिक तथा स्वदेशमै उत्पादन भएका फूलको तुलनामा भारतीय प्लास्टिकका कृत्रिम फूल र मालाले नेपाली बजार ढाक्न थालेका छन्।नेपाल भारत सीमावर्ती नाकाबाट भित्रिने यस्ता प्लास्टिकका फूल–माला सर्लाहीका बजारमा छ्यापछ्याप्ती पाइँदा पनि सम्बन्धित सरोकारवाला तथा अनुगमनकारी निकायको प्रभावकारी चासो देखिएको छैन।
दशैँ,तिहार लगायतका चाडपर्व नजिकिएसँगै सर्लाहीका बजारका विभिन्न पसलमा रंगीचंगी प्लास्टिकका फूल र माला सजाएर बिक्रीका लागि राखिएका छन्।भारतबाट आयात गरिएका भनिएका यस्ता कृत्रिम फूल तथा मालाको कारोबार बढ्दै जाँदा स्वदेशी फूल उत्पादन गर्ने किसान र व्यवसायी प्रत्यक्ष प्रभावित हुन सक्ने चिन्ता बढेको छ।
विशेषगरी तिहारमा मखमली,सयपत्री लगायतका स्वदेशी फूलको माग उच्च हुने गर्दछ।नेपाली किसानले वर्षभरि गरेको लगानीबाट उत्पादन भएका फूलले उचित बजार पाउने अपेक्षा गरिरहेका बेला सस्तो मूल्यमा बिक्री हुने भारतीय प्लास्टिकका फूल र मालाले बजार ओगट्नु स्वदेशी उत्पादनका लागि चुनौती बन्न सक्ने देखिन्छ।
सर्लाहीका बजारहरुमा खुलेआम बिक्री भइरहेका यस्ता वस्तु कुन माध्यमबाट नेपाल भित्रिए। भन्सार प्रक्रिया पूरा गरेर आयात भएका हुन् वा अवैध रूपमा भित्र्याइएका हुन् भन्ने विषयमा सम्बन्धित निकायले प्रभावकारी अनुगमन गर्नुपर्ने आवश्यकता देखिएको स्थानीय जानकारहरु बताउँछन् ।वैधानिक रूपमा आयात भएका वस्तुको आवश्यक कागजात,कर तथा मापदण्डको पालना भएको छ वा छैन ? भन्ने विषय पनि नियमनकारी निकायले हेर्नुपर्ने सरोकारवालाहरू बताउँछन्।
यता,प्लास्टिकजन्य कृत्रिम फूल र मालाको प्रयोग बढ्दै जाँदा वातावरणीय चुनौतीसमेत थपिन सक्ने वातावरणविद्धहरुको चिन्ता छ।प्राकृतिक फूल प्रयोगपछि जैविक रूपमा व्यवस्थापन हुन सक्ने भए पनि प्लास्टिकका फूल–माला प्रयोगपछि फोहोरका रूपमा थुप्रिने र त्यसको उचित व्यवस्थापन नहुँदा वातावरणमा नकारात्मक असर पर्न सक्ने उनीहरु बताउँछन् ।
सरकार तथा स्थानीय तहले एकातिर स्वदेशी उत्पादनको प्रवद्र्धन र स्थानीय किसानलाई प्रोत्साहन गर्ने नीति तथा कार्यक्रम ल्याउने गरेको भएपनि सर्लाहीका बजारहरुमा आयातित तथा प्लास्टिकजन्य वस्तुको बढ्दो उपस्थितिबारे समयमै अनुगमन र नियमन नहुँदा नीति र व्यवहार बीचको अन्तर स्पष्ट देखिन जानकारहरु बताउँछन् ।
चाडपर्वलाई लक्षित गरी बजारमा बढ्ने यस्ता वस्तुको कारोबारमा सम्बन्धित निकायले तत्काल अनुगमन गर्नुपर्ने आवश्यकता देखिएको स्थानीय व्यपारीहरु बताउँछन्।स्वदेशी उत्पादनलाई प्राथमिकता दिने,वैधानिक आयातको अभिलेख तथा प्रक्रिया जाँच गर्ने र अवैध कारोबार भए नियन्त्रण गर्ने काम प्रभावकारी रूपमा हुनुपर्ने स्थानीय उपभोक्ता तथा व्यवसायीहरूको माग छ।समयमै निगरानी नबढाइए नेपाली किसानले उत्पादन गरेको प्राकृतिक फूल बजार खोज्दै बस्ने र बजार भने आयातित प्लास्टिकका फूल–मालाले भरिने अवस्था दोहोरिन सक्ने जानकारहरु बताउँछन् ।