पूर्व पश्चीम महेन्द्र राजमार्ग स्तरोउन्नतीको काम भई रहेको अवस्थामा सर्लाहीको लालबन्दी सहित हरिवन र नयाँ रोडमा फ्लाई ओभर निर्माण गर्ने प्राविधिक स्टमेट बने पछि फ्लाई ओभरको मोडल जानकारी गराउन लालबन्दीका स्थानीय र व्यपारी व्यवसायीहरुले माग गरेका छन्।राजमार्गका विभिन्न स्थानहरुमा निर्माण गर्ने भनिएको फ्लाई ओभरको अवस्था कस्तो रहने भन्ने कुनै जानकारी नदिईएको भन्दै स्थानीय र व्यपारी व्यवसायीहरुले सर्लाही क्षेत्र नम्बर १ की प्रतिनिधि सभा सदस्य नितीमा कार्की(भण्डारी)लाई ध्यानाकर्षण गराएका छन् ।
विगत केही दिनदेखि लगातारको छलफल पछि स्थानीय र व्यपारी व्यवसायीहरुले सर्लाही क्षेत्र नम्बर १ की प्रतिनिधि सभा सदस्य भण्डारी मार्फत सरकारको ध्यानाकर्षण गराउने काम भएको भएपनि निर्माण कार्यको मोडालिटि सार्वजनिक गरिएको छैन् ।सोही विषयमा लालबन्दी बजारमा निर्माण गर्ने भनिएको फ्लाई ओभर कस्तो रहने भन्ने विषयमा सरोकारवालाहरुको व्यापक छलफल पछि पिल्लरसहितको फ्लाई ओभर निर्माण गर्न स्थानीयले दबाब दिएका हुन।
सोही क्रममा उद्योग वाणिज्य संघको सभा हलमा कमला–ढल्केबर–पथलैया–बगमती सडक आयोजनाका प्रमुखलाई नै लालबन्दीमा बोलाएर सरोकारवालासँग छलफल गरिएको सडक विस्तार संघर्ष समितिका संयोजक शालिग्राम लम्सालले जानकारी दिए ।
पर्खाल सहितको फ्लाई ओभर निर्माण गर्दा बजार कुरुप हुने,सर्वसाधारणलाई आउजाउ गर्न समस्या पर्ने भएकाले पिल्लर सहितको फ्लाई ओभर बनाउनुपर्ने स्थानीयले माग गरेका छन् । आफूहरुको मागका सम्वन्धमा सडक आयोजनाका प्रमुखसहितले माथिल्लो निकायमा लेखेर पठाउने प्रतिवद्धता जनाएका उद्योग वाणिज्य संघ लालबन्दीका अध्यक्ष महेश महत्तोले जानकारी दिए ।उनका अनुसार स्थानीयले संघीय तथा प्रदेश सांसद,पालिकाका जनप्रतिनिधिहरु लगायत सरोकारवाला निकायहरुसँग अन्तरक्रियासहित सडक आयोजनाको कार्यालयमै पुगेर ज्ञापन–पत्र समेत बुझाइसकेका छन् ।
छलफलमा लालबन्दी नगरपालिकाका नगर प्रमुख वासुदेव अधिकारी,उद्योग वाणिज्य संघ लालबन्दीका अध्यक्ष महतो लगायत स्थानीय व्यपारी व्यवसायीहरुका साथै स्थानीय राजनीतिक दलका प्रमुख तथा प्रतिनिधिहरुको विशेष उपस्थिति रहेको थियो ।
यता,स्वेग/आरसिसि जेभीले निर्माण सुरु गरेको सडकको संरचनाका सवालमा कुनैपनि मोडल सार्वजनिक गरिएको छैन् भने बजार क्षेत्रमा समन्वय नगरी आफुखुसी सडक खाली गराउने तथा फ्लाई ओभर निर्माण गर्ने काम गर्दा समेत फ्लाई ओभरको संरचना मोडल सार्वजनिक नगर्दा स्थानीयमा थप आक्रोस पैदा भएको छ ।