सिन्धुलीको सुनकोसी–३ झाँगाझोली स्थित श्री मा. वि. गुठबजारका प्रधानाध्यापक विनोद प्रसाद न्यौपाने विरुद्ध आफ्नै विद्यालयमा कक्षा ७ मा अध्ययनरत एक अन्दाजी १३/१४ वर्षिय बालिकामाथि अभद्र व्यवहार गरेको आरोप लागेको छ।गत भदौ २८ गते भएको भनिएको घटनाबारे बालिकाले विद्यालयकी एक शिक्षिकालाई जानकारी दिएपछि विषय सार्वजनिक भएको हो ।
पीडित बालिकाले प्रधानाध्यापक न्यौपानेले आफूलाई दुव्र्यवहार गर्ने प्रयास गरेको भन्दै घटनाको विवरण सुनाएपछि उक्त रहस्य सार्वजनिक भएको छ।ती बालिकाले प्रधानाध्यापक न्यौपानेको नाम उल्लेख गर्दै आफूले भोगेको घटनाबारे शिक्षिकालाई बताएकी विद्यालय स्रोतले जनाएको छ ।विवरण अनुसार घटनाको समयमा उनका अभिभावक काम विशेषले ४–५ दिनदेखि घरबाहिर रहेका थिए।त्यस अवधिमा साथीका रुपमा काकाका छोराछोरी राति मात्र बस्न आउने गरेका थिए।भदौ २८ गते तीजको दर खाने दिन साँझ करिब ७ बजे घर नजिकै रहेको एक पसलमा सामान किन्न गएको बेला उक्त घटना भएको उनको भनाइ छ ।बालिकाले दिएको जानकारी अनुसार प्रधानाध्यापक न्यौपानेले उनलाई देखेपछि बाहिर आएर विभिन्न प्रस्ताव राखेका थिए। उनले जबर्जस्ती रु सय गोजीमा राखिदिएको र “आज दाजुलाई घरमा सुत्न नबोलाउनु म तेरो घरमा आएर सुत्छु”भन्दै प्रस्ताव गरेको बालिकाले बताएकी छन् ।
बालिकाले प्रधानाध्यापक न्यौपानले थप आपत्तिजनक प्रस्तावसमेत राखेको दाबी गरेकी छन्।त्यसपछि आफू त्यहाँबाट भागेर घर गएको उनको भनाइ छ ।घटनापछि बालिकाले सुरुमा कक्षाकी एक साथीलाई यसबारे जानकारी दिएकी थिइन्।साथीले घटना लुकाउन नहुने भन्दै हौसला दिएपछि उनले विद्यालयकी शिक्षिकासँग कुरा गरेकी हुन्।त्यसपछि बाल क्लबमार्फत सम्बन्धित निकायमा जानकारी गराइएको बताइएको छ ।आधिकारिक उजुरी प्राप्त नभए पनि घटनाबारे जानकारी आएको सुनकोशी गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत शिवराज पौडेलले बताए।उनले सम्बन्धित शिक्षकलाई शिक्षा समितिमा बोलाएर बुझ्ने र आवश्यक प्रक्रिया अघि बढाउने जानकारी दिए ।यसअघि पनि प्रधानाध्यापक न्यौपानेको आचरण बारे विवाद र उजुरी आएको दाबी गरिएको छ।स्रोतका अनुसार विगतमा समेत उनीविरुद्ध यस्तै प्रकृतिको उजुरी परेको र छानबिन प्रक्रिया अघि बढाइएको थियो।पीडित बालिकाका अभिभावकले आफूहरू घटनाको समयमा काठमाडौंमा रहेको र घर फर्किएपछि छिमेकी मार्फत घटनाबारे जानकारी पाएको बताए।उनीहरूका अनुसार विद्यालयले असोज २ गते छलफलका लागि बोलाएको छ। प्र.अ.न्यौपाने सम्पर्कमा नभएकाले घटनाबारे उनको प्रतिक्रिया लिन सकिएन् ।
यता,सो विषयमा सुनकोसी गाउँपालिकाका शिक्षा शाखाका प्रमुख सौभाग्य न्यौपाने सहित जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रहरी प्रवत्ता एवम प्रहरी नायव उपरिक्षक संग जिज्ञासा राख्दा उनले कार्यालयमा कुनै किसिमको जानकारी नआएको बताए।