अपराध नियन्त्रण गर्न र शान्ति सुरक्षा कायम गर्न सिन्धुली प्रहरी सक्रिय

180 Shares

जिल्ला प्रहरी कार्यालय सिन्धुलीमा भदौ महिनामा ३२ वटा मुद्दा दर्ता भएका छन् भने १० वटा मुद्दा फछ्र्योट गरिएको छ।जिल्ला प्रहरी कार्यालय सिन्धुली तथा मातहतका प्रहरी कार्यालयहरूले भदौ महिनामा अपराध अनुसन्धान,शान्ति सुरक्षा व्यवस्थापन,नागरिक सहायता तथा जनचेतनामूलक गतिविधिमा सक्रियता देखाउनुका साथै गैर कानूनी गतिविधिहरुमाथि कडा अप्रेसन चलाएको जिल्ला प्रहरी कार्यालय सिन्धुलीले जनाएको छ ।
कार्यालयका अनुसार भदौमा लागूऔषधसम्बन्धी दुई वटा,जबर्जस्ती करणी सम्बन्धी दुई वटा, ज्यान सम्बन्धी कसुर एउटा,भवितव्य ज्यान सम्बन्धी पाँच वटा,झुन्डी आत्महत्या नौ वटा, बेवारिसे ज्यान सम्बन्धी एउटा,ज्यान मार्ने उद्योग सम्बन्धी एउटा,बैंकिङ कसुर सम्बन्धी चार वटा,सवारी ज्यान सम्बन्धी तीन वटा,चोरीसम्बन्धी कसुर एउटा,अभद्र व्यवहार सम्बन्धी एउटा ,जुवाताससम्बन्धी एउटा र ठगीसम्बन्धी एउटा गरी ३२ वटा मुद्धा दर्ता भएका छन् ।
चालु मुद्दाका २३ जना प्रतिवादीहरु पक्राउ परेका छन् भने सार्वजनिक चासो रहेका मुद्दामध्ये चार वटा मुद्दाको सफल अनुसन्धान गरिएको जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रहरी प्रमुख एवम प्रहरी उपरिक्षक रविन्द्र बहादुर सिंहले जानकारी दिए।उनका अनुसार फैसला कार्यान्वयन अन्तर्गत २१ जना पक्राउ गरी नौ वर्ष चार महिना २४ दिन कैद असुल तथा पाँच लाख १७ हजार पाँच सय २५ जरिवाना असुल गरिएको छ ।
महिला,बालबालिका तथा ज्येष्ठ नागरिक सम्बन्धी २८ वटा उजुरी प्राप्त भएका छन्।पीडित तथा पीडकको उमेर समूह विश्लेषण गर्दा १९–२५ वर्षका १४ जना,२६–३५ वर्षका १५ जना, ३६–४५ वर्षका १६ जना,४६–५९ वर्षका १० जना र ६० वर्षभन्दा माथिका एक जना गरी ५६ जनाको विवरण समेटिएको कार्यालयले जनाएको छ । हराएका १८ जनामध्ये १५ जनालाई फेला पारिएको छ ।
घरेलु हिंसातर्फ शारीरिक हिंसाका नौ वटा र मानसिक हिंसाका चार वटा गरी १३ वटा उजुरी आएका छन्।तीमध्ये १२ वटा मिलापत्र भएका छन् भने एउटा अदालत पठाइएको छ।आत्म हत्यासम्बन्धी नौ वटा मुद्दा दर्ता भएका छन्।जसमा पुरुष पाँच र महिला चार जना रहेका छन् ।
सुरक्षा व्यवस्थापन तर्फ प्रहरीले एलआरपी,एसआरपी,पिकेट,चेकिङ र ग्रामीण गस्ती गरी कुल दुई हजार पाँच सय २५ पटक नियमित परिचालन गरेको जनाएको छ।भदौ महिनामा सवारी दुर्घटना ११ वटा भएका छन्।दुर्घटनामा दुई जनाको मृत्यु,१८ जना घाइते भएका छन् भने २० जनाको उद्धार गरिएको छ ।
ट्राफिक कारबाहीबाट एक हजार दुई १५ वटा कारबाही गरी रु १३ लाख तीन हजार पाँच सय एक राजस्व संकलन गरिएको छ।भन्सार छली नियन्त्रणका क्रममा छ किलोग्राम चाँदीसहित करिब रु २९ लाख २५ हजार छ सय बराबरका सामान बरामद गरिएको छ ।विपद् व्यवस्थापनतर्फ आगलागीका तीन वटा,बाढीका छ वटा र हावाहुरीको एउटा गरी १० वटा घटना भएका छन्। विपद्का कारण एक जना घाइते, छ वटा घर र एउटा गोठमा क्षति पुगेको तथा करिब रु १२ लाख ३४ हजार बराबरको भौतिक क्षति भएको जिल्ला प्रहरी कार्यालय सिन्धुलीले जनाएको छ ।
अवैध मदिरा नियन्त्रण अभियान अन्तर्गत तीन सय ९० लिटर तयारी मदिरा र ३० लिटर कच्चा पदार्थ नष्ट गरिएको छ।प्राकृतिक स्रोत दोहन नियन्त्रणतर्फ एउटा ट्याक्टर नियन्त्रणमा लिएर जिल्ला समन्वय समितिलाई बुझाउँदा रु १५ हजार जरिवाना संकलन गरिएको छ ।
विद्यालय तथा समुदाय केन्द्रित सचेतना कार्यक्रम अन्तर्गत आत्महत्या रोकथाम सम्बन्धी कार्यक्रम एक विद्यालयमा सञ्चालन गरी कक्षा ८ देखि १० सम्मका ३२ जना विद्यार्थीलाई सहभागी गराइएको थियो।प्रहरी कार्यालयको हटलाइन तथा सम्पर्क नम्बरमा एक हजार चार सय २५ वटा कल प्राप्त भएका छन् भने नागरिक सहायता कक्षमार्फत दुई हजार ९० जना सेवाग्राहीले सेवा लिएका छन् ।प्रहरी कर्मचारीको मनोबल वृद्धि तथा आन्तरिक सहकार्यका लागि विभिन्न कार्यक्रम समेत सञ्चालन गरिएको जिल्ला प्रहरी कार्यालय सिन्धुलीले जनाएको छ ।

सम्बन्धित समाचार