वि.पी.राजमार्गमा चार दिन रात्रिकालीन सवारी बन्द

208 Shares

सम्भावित भारी वर्षा,बाढी र पहिरोको जोखिमलाई मध्यनजर गर्दै वि.पी राजमार्गको काभ्रे खण्डमा चार दिनसम्म रातको समयमा सवारी आवागमन पूर्ण रूपमा बन्द गरिने भएको छ। नेपाल जल तथा मौसम विज्ञान विभागले बिहीबारदेखि आइतबारसम्म देशका विभिन्न क्षेत्रमा भारी वर्षा हुनसक्ने पूर्वानुमान गरेपछि जिल्ला सुरक्षा समिति काभे्रले विपद् जोखिम न्यूनीकरणका लागि यस्तो निर्णय गरेको हो ।
प्रमुख जिल्ला अधिकारी गोपाल कुमार अधिकारीको अध्यक्षतामा बुधबार बसेको जिल्ला सुरक्षा समितिको बैठकले वर्षाका कारण हुनसक्ने सम्भावित क्षति रोक्न सवारी सञ्चालनमा कडाइ गर्ने निर्णय गरेको हो।निर्णयअनुसार बिहीबारदेखि आइतबारसम्म प्रत्येक दिन साँझ ५ बजेदेखि बिहान ५ बजेसम्म वि.पी राजमार्ग भएर सञ्चालन हुने सबै प्रकारका सवारी साधनको आवागमन रोक लगाइने छ।
मौसमको अवस्था,वर्षाको मात्रा र बाढी पहिरोको जोखिमको निरन्तर मूल्यांकन गरिने छ । अवस्था थप जोखिमपूर्ण देखिएमा दिउँसोको समयमा समेत राजमार्गमा सवारी सञ्चालन रोक्न सकिने व्यवस्था गरिएको प्रमुख जिल्ला अधिकारी अधिकारीले बताए ।राजमार्ग बन्द गर्ने निर्णयलाई प्रभावकारी कार्यान्वयन गर्न सिन्धुली र भक्तपुरका प्रमुख जिल्ला अधिकारीसँग समन्वय तथा सहजीकरणका लागि अनुरोध गरिने भएको छ । यसबाट यात्रु तथा सवारी साधनको व्यवस्थापन सहज हुने प्रशासनको अपेक्षा छ ।
बैठकले नदी किनार,बाढीको सम्भावना भएका क्षेत्र तथा पहिरोको उच्च जोखिममा रहेका बस्तीका नागरिकलाई सचेत गराउने कार्यलाई निरन्तरता दिने निर्णय गरेको छ।सम्भावित विपद्बाट सुरक्षित रहन अपनाउनुपर्ने सावधानीसम्बन्धी सूचना स्थानीय सञ्चार माध्यममार्फत प्रभावकारी रूपमा प्रवाह गर्न नेपाल पत्रकार महासंघ काभ्रे शाखासँग सहकार्य गर्ने निर्णय समेत गरिएको समितिले जनाएको छ ।विपद् उत्पन्न भएको अवस्थामा तत्काल उद्धार,राहत तथा व्यवस्थापनका लागि नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी बलका विपद् व्यवस्थापन टोलीलाई तयारी अवस्थामा राखिएको छ। 

सम्बन्धित समाचार