Close This

आइसोलेसनमा कुनै चिजको अभाव हुन नदिन नगरप्रमुख खड्काको आग्रह

कमलामाई खबर सम्वाददाता    प्रकाशित: २०७७-५-८ गते   ३२६ पटक हेरिएको

सर्लाहीको लालबन्दी नगरपालिकाका नगर प्र्रमुख मान बहादुर खड्काले कोरोना संक्रमितको उपचारमा दिनरात खटिरहेका स्वास्थ्यकर्मीलाई दुर्व्यवहार गरिनु अत्यन्त दुःखद भएको बताउँदै स्वास्थ्यकर्मीलाई सम्मान गर्न आग्रह गर्नु भएको छ ।
कोरोना संक्रमितको नियमित रेखदेखका क्रममा क्वारेन्टाइनको स्थलगत अनुगमन पश्चात नगर प्रमुख खड्काले यस्तो आग्रह  गर्नुभएको हो । उहाले स्वास्थ्यकर्मीकै भरमा हामी सुरक्षित रहेका हुँदा गाउँ समाजले स्वास्थ्यकर्मीको उचित सम्मान गर्नुपर्ने बताउनु भयो ।
‘आफ्नो ज्यानको ख्याल नगरी नियमित रुपमा स्वास्थ्यकर्मी कोरोना संक्रमितको उपचारमा संलग्न छन्, यस्तो अवस्थामा हामीले स्वास्थ्यकर्मीप्रति आदर, सद्भाव र सम्मान प्रकट गर्नुपर्छ’, नगर प्रमुख खड्काले भने–‘स्वास्थ्यकर्मी स्वस्थ भए हामी स्वस्थ रहन्छौ, कुनै किसिमको रोगले डर उत्पन्न गर्न सक्दैन । हामी ढुक्कसँग बस्नसक्छौ ।’ उहाले नागरिक तहबाट कुनै किसिमको अमर्यादित व्यवहार हुन नदिन आग्रह समेत गर्नु भएकोछ ।
नगरपालिकामा कोरोनाका कारण उत्पन्न जटिल परिस्थितिमा पनि नगर प्रमुख खड्का सहित नगरपालिकाका जनप्रतिनिधिहरु र नगरपालिकाका स्वास्थ्य शाखाका कर्माचारी निरन्तर नागरिककै बीचमा सेवारत छन् । जनप्रतिनिधि जनताको सेवा गर्न निर्वाचित भएका हुन् भन्ने भावना राख्ने उहाले कोरोनाबाट कोही कसैले डराउन नपर्ने र दृढताका साथ सामना गर्नुपर्ने बताउनु भयो । उच्च मनोबलका साथ काम गरेको खण्डमा कोरोनालाई जित्न सकिने नगर प्रमुख खड्काको भनाई छ ।
नगरले सञ्चालन गरेको आईसोलेसन तथा क्वारेन्टाईन जिल्लाकै सुविधा सम्पन्न  रहेको भन्दै कोरोना संक्रमितलाई खाना, खाजा र चियापानको व्यवस्थापनमा कुनै कसर बाँकी नराख्न व्यावस्थापकलाई आग्रह गरिएको नगर उप प्रमुख शान्ती लामाले बताउनु भयो ।
भने सो आइसोलेसनमा बसेर फर्किनु भएका वडा नम्बर ८ का वडा अध्यक्ष राजन कुमार श्रेष्ठले आइसोलेसनमा खान बस्नमा कुनै समस्या नरहेको बताउनु भयो । 

© Copyright 2019 Kamalamai Khabar. All rights reserved.
Design & Developed Journey For Tech