सिन्धुलीको तीनपाटन गाउँपालिकाले पालिकाभरको स्वास्थ्य संस्थाहरुको औषधीको माग,आपुर्ति एवम् गुणस्तरको अनुगमन गरि १५ दिनभित्र प्रतिवेदन पेश गर्न सर्वदलीय÷सर्वपक्षीय समिति गठन गर्ने भएको छ । औषधीको गुणस्तरको सवालमा विभिन्न माध्यमबाट आलोचना भएपछि गम्भीर ध्यानाकर्षण भएको जनाउँदै तीनपाटन गाउँपालिकाले सर्वदलीय/सर्वपक्षीय समिति गठन गरी पालिकाभरको स्वास्थ्य संस्थाहरुको औषधीको माग,आपुर्ति एवम् गुणस्तरको अनुगमन गरि १५ दिनभित्र प्रतिवेदन पेश गर्ने भएको हो ।
जनगुनासो तथा पालिकास्थित सबै राजनीतिक दलको चासोलाई मनन गर्दै यस बिषयमा यथार्थ तथ्य पत्ता लगाउन सर्वदलीय/सर्वपक्षीय समिति गठन गर्ने र उत्त समितिले अध्यायन गरी १५ दिन भित्र गाउँपालिकामा प्रतिवेदन पेश गर्न गाउँपालिका उपाध्यक्षको अध्यक्षतामा समिति गठन गर्ने निर्णय भएको गाउँपालिका अध्यक्ष कर्ण बहादुर थापा मगरले जानकारी दिए ।
उनका अनुसार समितिमा राष्ट्रिय मान्यता प्राप्त राजनीतिक दलका एक/एक जना प्रतिनिधि तथा सम्बन्धित वडाका वडा अध्यक्ष सदस्य रहने र स्वास्थ्य शाखा प्रमुखलाई सदस्य सचिव तोकिएको छ भने जन स्वास्थ्य कार्यालय, सिन्धुलीका अधिकृत प्रतिनिधिलाई समितिको सदस्यका रूपमा आमन्त्रण गरिने छ ।
साथै,केहि कर्मचारीहरुले बागमती प्रदेशको स्थानीय सेवा (गठन तथा सञ्चालन) ऐन २०७९ को परिच्छेद ११ मा उल्लेख भए बमोजिम पदीय आचरण विपरीत कार्य गरेको पाईएकाले विभागीय कारबाहिको प्रक्रिया अघि बढाउँन प्रमुख प्रशासकिय अधिकृतलाई निर्देशन दिने निर्णय पनि बैठकले गरेको गाउँपालिका उपाध्यक्ष धन बहादुर पुलामी मगरले बताए ।
यस्तै,पालिका मातहतका स्वास्थ्यकर्मी कर्मचारीहरुबाट रातको समयमा एवम् सार्वजनिक बिदाको दिन काम गरे बापतको भत्ता उपलब्ध गराउँन माग गरेकाले प्रचलित कानुन बमोजिम भत्ता उपलब्ध गराईने निर्णय समेत गरिएको गाउँपालिकाले जारी गरेको सूचनामा उल्लेख गरिएको छ ।