कानुनी क्षेत्राधिकार भन्दा बाहिर लालबन्दी–८ का वडाध्यक्ष लामा, स्थानीय सरकार सञ्चालन ऐन र संविधानको बर्खिलाप ?

306 Shares

स्थानीय तहमा निर्वाचित जनप्रतिनिधिले आफ्नो अधिकार क्षेत्रभित्र रहेर कानून कार्यान्वयन गराउनुपर्ने संवैधानिक तथा कानुनी व्यवस्था भए पनि लालबन्दी नगरपालिका–८ का वडाध्यक्ष शुक्र लामाको केही निर्णय तथा कार्यशैलीमाथि कानुनी प्रश्न खडा भएको छ।विशेषगरी वडा तहबाटै  कर्मचारी नियुत्त गर्ने गर्दा वडाध्यक्ष लामाको अधिकार क्षेत्र कति हो भन्ने प्रश्न खडा भएको हो ।
नेपालको संविधानले स्थानीय तहलाई अधिकार दिएको भए पनि त्यो अधिकार संविधान र संघीय कानूनको अधीनमा प्रयोग गर्नुपर्ने स्पष्ट व्यवस्था गरेको छ।संविधानको धारा २१४ ले स्थानीय तहको कार्यकारिणी अधिकार संविधान र संघीय कानूनको अधीनमा गाउँ कार्यपालिका वा नगर कार्यपालिकामा निहित रहने र धारा २२१ ले स्थानीय तहको व्यवस्थापकीय अधिकार गाउँसभा वा नगरसभामा रहने व्यवस्था गरेको छ।
यसको अर्थ निर्वाचित वडाध्यक्षलाई संविधानले दिएको अधिकार स्वतन्त्र र असीमित अधिकार होइन।वडा अध्यक्षको पद महत्वपूर्ण भए पनि कानूनले तोकेको सीमाभित्र रहेर मात्रै अधिकार प्रयोग गर्नुपर्ने तथा स्थानीय सरकार सञ्चालन ऐन २०७४ का साथै नेपालको संविधान २०७२ को व्यवस्था विपरित वडाअध्यक्ष लामा चल्न थालेका पाईएको हो ।

81.jpg
स्थानीय तहको निर्वाचन नजिकिदै गर्दा वडा अध्यक्ष लामाले विधि,नीति तथा प्रावधान मिचेर आफुखसी निर्णय गर्दा क्षेत्राधिकार तोडिएको छ ।
स्थानीय सरकार सञ्चालन ऐन, २०७४ को दफा ११ ले गाउँपालिका तथा नगरपालिकाको एकल अधिकार संविधानको अनुसूची–८ बमोजिम हुने व्यवस्था गरेको छ।सोही ऐनको दफा १२ ले वडा समितिको काम,कर्तव्य र अधिकार तोकेको छ।वडाध्यक्ष वडा समितिको अध्यक्षका रूपमा काम गर्ने,वडाको विकास योजना तथा कार्यक्रम तयार गर्ने,स्वीकृतिका लागि नगरपालिकामा पेश गर्ने र वडाबाट कार्यान्वयन हुने योजना तथा कार्यक्रमको अनुगमन गर्ने अधिकार राख्छन्।तर ती अधिकारलाई कर छुट,राजस्व मिनाहा,कर्मचारी भर्ना र नगरपालिकाको आर्थिक अधिकार स्वतः प्रयोग गर्न सक्ने अधिकारका रूपमा बुझ्न मिल्दैन।
झन् महत्वपूर्ण कुरा,स्थानीय सरकार सञ्चालन ऐन २०७४ को दफा ५४ ले कानूनबमोजिम बाहेक गाउँपालिका वा नगरपालिकाले आफ्नो अधिकारक्षेत्र भित्र कुनै कर लगाउन,उठाउन वा ऋण लिन नपाउने स्पष्ट व्यवस्था गरेको छ। स्थानीय कर,सेवा शुल्क तथा दस्तुरसम्बन्धी नीति, कानून,मापदण्ड,कार्यान्वयन र नियमन भने स्थानीय तहको संस्थागत अधिकार अन्तर्गत राखिएको छ।
त्यसैले कुनै व्यक्तिको कर,शुल्क वा राजस्वमा छुट दिने विषयमा वडाध्यक्षले आफूखुसी निर्णय गरेको हो भने त्यसको कानुनी आधार,अधिकार प्रत्यायोजन,नगरपालिकाको कानून,आर्थिक ऐन तथा सम्बन्धित निर्णय अभिलेखबाट परीक्षण गर्नुपर्ने देखिन्छ।कानूनले अधिकार दिएको हो कि नगर कार्यपालिकाले विधिवत् प्रत्यायोजन गरेको हो भन्ने विषय महत्वपुर्ण हुन्छ ।

83.jpeg
स्थानीय सरकार सञ्चालन ऐन २०७४ को दफा १८ ले कार्यपालिकाले आफूलाई प्राप्त अधिकार मध्ये केही अधिकार अध्यक्ष/प्रमुख,उपप्रमुख,वडा समिति,सदस्य वा कर्मचारीलाई प्रत्यायोजन गर्न सक्ने व्यवस्था गरेको छ।अर्थात् अधिकार प्रत्यायोजनको स्पष्ट कानुनी आधारबिना कुनै पदाधिकारीले आफूलाई प्राप्त नभएको अधिकार प्रयोग गर्न मिल्ने अवस्था हुँदैन।
वडाध्यक्षले कानूनबमोजिम प्राप्त अधिकार प्रयोग गरेको हो भने सम्बन्धित निर्णयको कानुनी आधार सार्वजनिक गर्न कठिनाइ हुनु हुँदैन।तर अधिकार क्षेत्र बाहिर गएर राजस्व छुट,शुल्क मिनाहा वा आर्थिक दायित्व सम्बन्धी निर्णय तथा कर्मचारी नियुत्ती गर्ने काम गर्दा त्यसले स्थानीय शासनमा कानूनको सर्वोच्चता,राजस्व अनुशासन र संस्थागत उत्तरदायित्वमाथि गम्भीर प्रश्न खडा गर्छ ।
त्यस्तै,लालबन्दी नगरपालिका–८ का वडाअध्यक्ष लामाले गरेको निर्णय प्रचलित कानून अनुसार नभएको र त्यसले नगरपालिकालाई समेत असर परेको लालबन्दी नगरपालिकाले जनाएको छ ।कार्यालयका अनुसार वडाअध्यक्ष लामाले आफ्नो अधिकार भन्दा बाहिरि गएर आफुखुसी निर्णय गर्दा अरु वडाअध्यक्षहरुमा पनि त्यो गलत प्रवृति सर्न सक्नेमा चिन्ता व्यक्त गरेको छ ।
यता,लालबन्दी नगरपालिका–८ का वडाअध्यक्ष लामाले यी कर्मचारीलाई आफुले नियुत्त गरेको भएपनि लालबन्दी नगरपालिका/नगरकार्यपालिकाले निर्णय नगर्दा सम्म वैधानिक नहुने बताए ।उनले नगरपालिका/नगरकार्यपालिकाले निर्णय नगरे आफुले आफ्नो नीजि रकमबाट ती मानिसको तलब सेवा सुविधा भुक्तानी गर्नु पर्ने अवस्था आउने समेत बताए।कमलामाई मिडिया प्रा.लिसंग कुरा गर्दै वडाअध्यक्ष लामाले वडालाई आवश्यक परेकाले नियूक्त गरिएको भएपनि प्रचलित कानून अनुसार नभएको समेत स्वीकार गरे ।
साथै,निर्वाचित प्रतिनिधिबाट मनपरी अधिकार प्रयोग होइन,कानूनअनुसारको शासन र पारदर्शी सेवा जनताले अपेक्षा गरेका हुन्छन्।जनप्रतिनिधि हुनु कानूनभन्दा माथि हुने प्रमाण–पत्र पाउनु होइन। बरु जनप्रतिनिधिले नै कानूनको सीमा र प्रक्रियाको सबैभन्दा बढी सम्मान गर्नुपर्ने स्थानीय जानकारहरु बताउँछन् ।
त्यसैले लालबन्दी–८ का वडाध्यक्ष लामामाथि उठेको अधिकार क्षेत्र सम्बन्धी प्रश्नको निरुपण आरोप–प्रत्यारोपबाट होइन,सम्बन्धित निर्णय र प्रचलित कानूनको परीक्षणबाट हुनुपर्ने स्थानीय जानकारहरुको माग छ।उनीहरुका अनुसार स्थानीय सरकारको विश्वसनीयता भाषणले होइन,कानूनको पालना,निर्णयको पारदर्शिता र सार्वजनिक स्रोतको जिम्मेवार प्रयोगबाट स्थापित हुन्छ।

सम्बन्धित समाचार