लालबन्दी ८ ले सुरु गर्यो सामाजिक सुरक्षा भत्ता नवीकरण घरदैलो अभियान

160 Shares

सर्लाहीको लालबन्दी नगरपालिका –८ ले सामाजिक सुरक्षा भत्ता प्राप्त गर्ने लाभग्राहीहरूको सहजताका लागि“घरदैलो नवीकरण अभियान”सुरु गरेको छ।लालबन्दी नगरपालिका–८ को वडा कार्यालयमा आएर सामाजिक सुरक्षा भक्ता नवीकरण गर्न नसक्ने वृद्ध र अपाङ्गता भएका नागरिकहरूलाई सहजता प्रदान गराउन भन्दै घर–दैलोमा सेवा सुरु गरिएको लालबन्दी नगरपालिका–८ का वडाअध्यक्ष शुक्र लामाले जानकारी दिए। उनका अनुसार वडा कार्यालय सम्म आएर सेवा लिन नसक्ने तथा सामाजिक सुरक्षा भत्ता नविकरण गर्न छुटेका व्यक्तिहरूको घर–घरमा पुगि नविकरण गर्ने काम सुरु गरिएको हो ।
वडा कार्यालयमा धाउन नसक्ने वृद्धवृद्धा,अपाङ्गता भएका व्यक्ति तथा असहाय नागरिकहरूको समस्यालाई मध्यनजर गर्दै वडाले घरमै पुगेर भत्ता नवीकरण गर्ने विशेष अभियान नै थालेको हो।विगतका वर्षहरूमा नवीकरणका लागि वडा कार्यालयमा लामो लाइन बस्नुपर्ने,कागजी प्रक्रियामा झन्झट हुने र शारीरिक अशक्तताका कारण सेवा लिनै समस्या हुने नागरिकहरूको गुनासोलाई सम्बोधन गर्न यो कदम चालिएको वडाध्यक्ष लामाले बताए।
यस अभियान अन्तर्गत वडाका जनप्रतिनिधि,पञ्जीकरण शाखाका कर्मचारी तथा स्थानीय स्वास्थ्य स्वयंसेविकाहरूको टोली प्रत्येक घर(घरमा पुग्ने छ।वडा अध्यक्ष लामाले राज्यले प्रदान गर्ने सामाजिक सुरक्षा भत्ताबाट कोही पनि नागरिक वञ्चित नहोऊन् भन्ने मुख्य उद्देश्यसहित यो सेवा घरमै पुर्याइएको बताए।उनले भने,“हाम्रा जेष्ठ नागरिक तथा अशक्त आमाबुवाहरूलाई कार्यालयसम्म आउन पर्ने सास्ती हटाउन हामी आफैँ उहाँहरूको दैलोमा पुगेका छौँ।यसले समयको बचत हुनुका साथै प्रक्रियागत पारदर्शिता पनि कायम हुन्छ।”
घरदैलो अभियानका क्रममा कर्मचारीहरूले लाभग्राहीहरूको भौतिक उपस्थिति प्रमाणीकरण गर्ने, आवश्यक फारमहरू भर्ने, बायोमेट्रिक विवरण संकलन गर्ने र नवीकरण प्रक्रियालाई अन्तिम रूप दिने गरेका छन्।वडाको यस किसिमको मानवीय र जनमुखी कदमप्रति स्थानीयले खुसी व्यक्त गरेका छन्।घरमै आएर सरकारी सेवा उपलब्ध गराउँदा विशेष गरी वृद्धवृद्धा र घरमा एक्लै बस्ने ज्येष्ठ नागरिकहरू र अपाङ्गता भएका मानिसहरुले ठूलो राहत महसुस गरेका छन्।
वडा कार्यालयले तोकिएको समय सीमाभित्रै सबै लाभग्राहीहरूको नवीकरण कार्य सम्पन्न गर्ने लक्ष्य राखेको छ।साथै,अभियानका क्रममा छुटेका वा कुनै कारणले सम्पर्क बाहिर रहेका लाभग्राहीहरूलाई नजिकैको वडा कार्यालयमा सम्पर्क गर्न वा वडाको सूचना प्रणाली मार्फत जानकारी लिन समेत वडा कार्यालयले अनुरोध समेत गरेको छ । यस अभियानले स्थानीय तह र नागरिकबीचको दूरीलाई अझ नजिक बनाउनुका साथै प्रशासनिक सेवालाई छिटो,छरितो र जनमैत्री बनाउन महत्वपूर्ण योगदान पुर्याउने विश्वास लिइएको छ।

सम्बन्धित समाचार