सिन्धुलीको हरिहरपुरगढी गाउँपालिका– २ र ४ अन्तर्गत मदन भण्डारी लोकमार्ग आसपासमा रहेका नौ वटा विभिन्न होटल तथा पसलहरुमा अनुगमन गर्दा दुई वटा पसललाई कार्बाही गरिएको छ ।हरिहरपुरगढी गाउँपालिका सहित जिल्ला प्रशासन कार्यालय सिन्धुली,उद्योग वाणिज्य पर्यटन तथा यातायात कार्यालय सिन्धुली र खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय सिन्धुलीको संयुक्त टोलीले गरेको अनुगमनका क्रममा दुई वटा सपललाई कार्बाही गरिएको खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय सिन्धुलीका कार्यालय प्रमुख दिनेश सुवेदीले जानकारी दिए ।
उनका अनुसार हरिहरपुरगढी गाउँपालिका–२ चैनपुरको वर्णवाल सप्लायर्स र हरिहरपुरगढी गाउँपालिका–४ महेन्द्रझ्याडीको उत्तम किराना पसललाई कार्बाही गर्दा वर्णवाल सप्लायर्सबाट करिब रु ४७ हजार पाँच सय बराबरको म्याद गुज्रेका सामान जफत गरी रु दुई लाख ५० हजार जरिवाना र उत्तम किराना पसलबाट करिब रु आठ हजार बराबरको बिक्री वितरण गर्न राखिएको म्याद गुज्रिएको सामान जफत गरी रु १५ हजार जरिवाना गरिएको हो ।
अनुगमन टोलीले व्यवसाय दर्ता÷नविकरण,स्थायी लेखा नम्बर दर्ता,अन्त शुल्क,बिक्री बिल दिने प्रक्रिया भए/नभएको,खाद्य अनुज्ञापत्र लिए/नलिएको,मासु तथा मिठाइको गुणस्तर,ग्यासको तौल र मूल्य,खरिद बिल भए/नभएको, यसअघिको निर्देशन पालना भए/नभएको लगायत विषयको अनुगमन गरी आवश्यक निर्देशन दिइएको सहायक प्रमुख जिल्ला अधिकारी एवम अनुगमन समितिका संयोजक दिपेन्द्र पौडेलले बताए ।
उनका अनुसार अनुगमन टोलीमा गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत कृष्णहरि न्यौपाने, उद्योग वाणिज्य पर्यटन तथा यातायात कार्यालय सिन्धुलीका प्रमुख टेकेन्द्र बहादुर थापा मगर, सहित खाद्य निरीक्षक अतिश घिमिरे,जिल्ला प्रशासन कार्यालय सिन्धुलीका नायव सुब्बा नहकुल ढकाल,गाउँपालिकाका कृषि अधिकृत प्रवेश देवकोटा र पालिकाका उद्यम विकास सहजकर्ता पोष्टराज वि.क. लगायत सहभागी रहेका थिए ।विशेष गरी बजाहहरुको अनुगमन नियमित हुनु पर्ने भएपनि चाडपर्वको समयमा अनुगमनको नाममा अनुगमन हुने गरेका कारण व्यापारी व्यवसायीहरुको मनोवल बढी रहेको स्थानीय जानकारहरु बताउँछन् ।