सर्लाहीको मलंगवामा दुई घरमा छापा मर्दा १७ लाखबढीकाे पटका र कपडा बरामद

182 Shares

सर्लाहीको मलंगवा नगरपालिका–१ भेडियाही स्थित दशगजा क्षेत्र नजिकका दुईवटा घर तथा गोठमा सशस्त्र प्रहरीकाे टोलीले छापा मार्दा ठूलो परिमाणमा अवैध पटका तथा लत्ताकपडा बरामद गरेको छ। विशेष सूचनाका आधारमा बुधबार राति करिब ९ बजे स्थानीय देवनारायण यादव र योगेन्द्र यादवको घर तथा गोठमा खानतलासी गर्दा करिब रु १७ लाख ३५ हजार बराबरका अवैध सामान बरामद भएको सशस्त्र प्रहरी बल नेपाल नम्बर १० हे.क्वा.गण सर्लाहीले जनाएको छ।

कार्यालयका अनुसार सशस्त्र प्रहरी बल, नेपाल सीमा सुरक्षा गुल्म मलंगवाका सशस्त्र प्रहरी नायव उपरीक्षक विष्णु अधिकारी तथा सशस्त्र प्रहरी बल नेपाल नम्बर १० हे.क्वा.गण सर्लाहीका सशस्त्र प्रहरी निरीक्षक कृष्ण गुरुङ सहित सशस्त्र प्रहरी बल सीमा सुरक्षा पाेष्ट (बीओपी)खुटौनाका बिओपीपति एवम् सशस्त्र प्रहरी निरीक्षक वीरेन्द्रकुमार कार्कीको नेतृत्वमा खटिएको सशस्त्र प्रहरीकाे टाेलीले खानतलासी गर्दा करिब १५ लाख मूल्य बराबरका विभिन्न किसिमका पटका तथा रु दुई लाख ३५ हजार बराबरका लत्ताकपडा बरामद गरिएको सशस्त्र प्रहरीले जनाएको छ।

बरामद पटका तथा लत्ताकपडालाई आवश्यक कानुनी प्रक्रिया पूरा गरी सर्लाही भन्सार कार्यालय मलंगवामा बुझाउने तथा प्रचलित कानुनअनुसार नष्ट गर्ने प्रक्रिया अघि बढाइएको सशस्त्र प्रहरीले जनाएको छ। भारतसँग खुला सीमा जोडिएको सर्लाहीका सीमावर्ती क्षेत्रमा अवैध सामानको ओसारपसार तथा भण्डारण नियन्त्रण गर्न सुरक्षा निकायले निगरानी र गस्तीलाई प्रभावकारी बनाउन थालेपछि भन्सार छलीका सामानहरु धमाधम नियन्त्रणमा आउन थालेका छन् ।

सम्बन्धित समाचार