मधेसमा छठ पर्वको रौनक सुरु,आईतबार साँझ अस्ताउँदो सूर्य र सोमबार बिहान उदाउँदो सूर्यलाई अर्घ दिईने

63 Shares

मधेसमा लोकआस्था,श्रद्धा र निष्ठाको महापर्व छठको तयारी सुरु भएको छ ।छठ पर्व नजिकिएसँगै मधेसका गाउँबस्तीमा धार्मिक तथा सांस्कृतिक चहलपहल बढनुका साथै पर्वको पहिलो चरण अन्तर्गत व्रतालुहरू घरपरिवारका सदस्यसहित छठीमाताको आराधनाका लागि आवश्यक सामाग्रीको तयारीमा जुटेका हुन् ।
छठ पर्वको तयारीका क्रममा पहिलो दिन गाउँको मुख्य बाटोमा जम्मा गरिएको गाईको गोबरलाई दोस्रो दिन व्रतालुहरूले सामूहिक रूपमा गोधन कुटदै छठसँग सम्बन्धित परम्परागत गीत गाउँदै,दाजुभाइको दीर्घायु,परिवारको सुख,शान्ति र समृद्धिको कामना गर्दै उनीहरूले छठीमातालाई चढाइने महाप्रसाद पकाउन आवश्यक माटोको नयाँ चुल्हो निर्माणको गर्छन् ।
मधेसका गाउँ बस्तिमा व्रतालुहरूले सामूहिक रूपमा माटोको चुल्हो निर्माण गर्ने पुरानो परम्परा छ।चुल्हो निर्माणको काम दोस्रो र तेस्रो दिन गरिन्छ। छठ पर्वमा शुद्धता र पवित्रतालाई विशेष महत्त्व दिइने भएकाले चुल्हो निर्माणदेखि प्रसाद तयार पार्ने र पूजाका सामग्री व्यवस्थापन गर्नेसम्मका सबै काम विशेष सावधानी र धार्मिक विधि अनुसार हुने गरेको छ।
छठको प्रमुख विधि शुक्रबार“नहाय–खाय” अर्थात व्रतालुहरू स्नान गरी शारीरिक तथा मानसिक रूपमा शुद्ध बनेर शुद्ध शाकाहारी भोजन ग्रहण गर्छन् ।नहाय–खायको दिन गाउँका हुनेखाने तथा श्रद्धालु व्यक्तिहरूले व्रतालुका घरमा दाल,चामल,गहुँ,साठी धान र विभिन्न प्रकारका मौसमी तरकारी लगायतका सामग्री उपलब्ध गराउने परम्परा पनि मधेसका गाउँबस्तीमा रहिआएको छ।छठ पर्वलाई धार्मिक अनुष्ठानसँगै सामाजिक सद्भाव, सहयोग र आपसी एकताको पर्वका रूपमा समेत स्थापित भएको स्थानीय जानकारहरु बताउँछन् ।
शनिबार बिहानदेखि व्रतालुहरू कठोर व्रतको अर्को महतवपूर्ण विधि“खरना” गरिन्छ।यस दिन माटोबाट निर्माण गरिएको नयाँ र पवित्र चुल्होमा छठीमाताका लागि खीर,पुरी,मिठाई लगायतका विभिन्न पकवान बनाएर साँझ खरना पूजा गरी प्रसाद ग्रहण गरिन्छ।खरनापछि व्रतालुहरूको निर्जला उपवास सुरु हुन्छ।जुन छठ पर्वको सबैभन्दा कठिन तथा महत्वपूर्ण पक्ष हो ।
आइतबार बिहानैदेखि व्रतालुहरू निराहार तथा निर्जला व्रत बसेर गाउँका पोखरी,नदी तथा अन्य जलाशयमा निर्माण गरिएका छठघाटमा पुगेर अस्ताउँदो सूर्यलाई अघ्र्य अर्पण गर्दै उनीहरूले छठीमाताको पुजा आराधना गर्छन।यस अवसरमा छठघाटहरूलाई केराका थम्बा, फूलमाला,बत्ती तथा पूजाका विभिन्न सामग्रीले सजाउने कार्य अहिले देखि नै सुरु भएको छ । सजाउएका छठघाटमा व्रतालु, परिवारजन तथा श्रद्धालुहरूको उल्लेख्य सहभागिता रहने अपेक्षा गरिएको छ।
आइतबार साँझ अस्ताउँदो सूर्यलाई अघ्र्य दिएपछि व्रतालुहरू घर फर्कने भए पनि छठको धार्मिक अनुष्ठान भने जारी रहनेछ। जलाशयबाट घर ल्याइएका अघ्र्य तथा विभिन्न प्रकारका पकवानसहित छठीमाताको गीत गाएर रातभरि जाग्राम बस्ने परम्परा छ। कतिपय व्रतालु तथा श्रद्धालुहरू छठघाटमै रातभर जाग्राम बसेर छठीमाताको भजनकीर्तन गर्ने गर्छन्।
छठ पर्वको अन्तिम तथा महत्वपूर्ण विधि सोमबार बिहान सम्पन्न हुनेछ।उदाउँदो सूर्यलाई अघ्र्य अर्पण गरेपछि चार दिनसम्म चल्ने छठ महापर्वको समापन हुनेछ।उदाउँदो सूर्यलाई अघ्र्य दिएसँगै व्रतालुहरूले आफ्नो कठोर व्रत तोड्ने छन्।छठ पर्वमा शुद्धता,संयम,सत्यता र निष्ठालाई विशेष महत्व दिइने छ।छठ पर्वमा व्रतालुहरूले मन,वचन र कर्मले शुद्ध भएर पूजा गर्नुपर्ने मान्यता छ।पर्वका क्रममा झुटो नबोल्ने,मन शान्त राख्ने र पूर्ण निष्ठाका साथ छठीमाताको आराधना गर्ने परम्परा रहेको छ।मधेसमा छठ पर्व विशेषगरी पति, छोराछोरी तथा परिवारका सम्पूर्ण सदस्यको दीर्घायु,सुख,शान्ति,समृद्धि र उत्तरोत्तर प्रगतिको कामनासहित मनाउने गरिन्छ। 

सम्बन्धित समाचार