यौनजन्य हिंसाविरुद्ध सर्लाही प्रहरीको तीनदिने सचेतना अभियान

124 Shares

मधेश प्रदेशमा बढ्दो यौनजन्य हिंसाका घटनाप्रति समुदायको ध्यानाकर्षण गराउँदै यसको रोकथाम तथा नियन्त्रणका लागि जिल्ला प्रहरी कार्यालय सर्लाहीले तीनदिने सचेतनामूलक अभियान सुरु गरेको छ ।अपराध अनुसन्धान विभागको ७१ औँ स्थापना दिवसको अवसरमा सुरु गरिएको अभियानको मुख्य उद्देश्य यौनजन्य हिंसाविरुद्ध जनचेतना फैलाउनुका साथै पीडित मैत्री समाज निर्माणमा नागरिकको भूमिका बढाउनु रहेको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ ।
सर्लाही सदरमुकाम मलंगवामा प्रमुख जिल्ला अधिकारी विजयराज सुवेदीले अभियानको उद्घाटन गरेका हुन।उद्घाटन कार्यक्रममा जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रहरी प्रमुख एवम् प्रहरी उपरिक्षक रविन्द्र नाथ पौडेलले यौनजन्य हिंसामुक्त समाज निर्माणका लागि प्रहरी र समुदायबीच सहकार्य अपरिहार्य रहेको बताए ।
उनले पछिल्लो समय मधेस प्रदेशका विभिन्न जिल्लामा यौनजन्य हिंसाका घटना बढ्दै गएको प्रति चिन्ता व्यक्त गर्दै प्रहरी प्रधान कार्यालयको निर्देशन अनुसार तीनदिने अभियान सञ्चालन गरिएको जानकारी दिए ।यस्ता अपराध नियन्त्रण प्रहरीको एकल प्रयासबाट सम्भव नहुने उल्लेख गर्दै उनले नागरिक समाज,सामाजिक संघ/संस्था,विद्यार्थी,अभिभावक तथा अन्य सरोकारवालालाई पनि अभियानमा सक्रिय भूमिका निर्वाह गर्न आग्रह समेत गरे ।जिल्ला प्रहरी कार्यालय सर्लाहीको आयोजनामा भएको कार्यक्रममा प्रहरी उपरिक्षक पौडेल सहित जिल्लाका सुरक्षा निकायका प्रमुख तथा प्रतिनिधिहरु,नागरिक समाजका अगुवा,विभिन्न संघ/संस्थाका प्रतिनिधिहरूको सहभागिता रहेको थियो ।
अभियानअन्तर्गत निकालिएको सचेतनामूलक ¥यालीले मलंगवा बजारका विभिन्न भागको परिक्रमा गरेको थियो।तीनदिने अभियान मार्फत यौनजन्य हिंसाका स्वरूप,यसका सामाजिक असर,रोकथामका उपाय तथा पीडितले न्याय प्राप्त गर्ने प्रक्रियाबारे समुदायलाई सचेत बनाउने लक्ष्य राखिएको छ ।यौनजन्य हिंसा व्यक्तिगत समस्या मात्र नभई सामाजिक चुनौतीसमेत भएकाले यसको अन्त्यका लागि कानुनी कारबाहीसँगै सामाजिक सोच र व्यवहारमा परिवर्तन आवश्यक रहेको सन्देश अभियानले दिएको छ ।

सम्बन्धित समाचार