सर्लाहीको हरिवन नगरपालिका भित्र सञ्चालित १० वटा निजी स्वास्थ्य संस्थाहरूको अनुगमन गरिएको छ।नगरस्तरिय अनुगमन समितिले गरेको १० वटा निजी स्वास्थ्य संस्थाहरुको अनुगमनका क्रममा चार वटा स्वास्थ्य संस्था अनुमति नै नलिई सञ्चालनमा रहेका पाइएको हरिवन नगरपालिकाको हरिवन नगरपालिका स्वास्थ्य तथा सामाजिक विकास शाखा प्रमुख रामबाबु चौधरीले जानकारी दिए ।
उनका अनुसार हरिवन नगरपालिका–११ मा सञ्चालित आर.एम.डाईग्नोष्टिक तथा पोलिक्लिनिक प्रा.लि.,हरिवन नगरपालिका–११ मै सञ्चालित ईन्दु आँखा उपचार केन्द्र प्रा.लि.,हरिवन नगरपालिका–११ मै सञ्चालित रोजी डेण्टल केयर र हरिवन नगरपालिका–११ मा सञ्चालित सुमेरु सामुदायिक अस्पताल दर्ता नै नभई सञ्चालन भएको पाइएको हो ।

त्यसैगरी,हरिवन नगरपालिका–११ मा सञ्चालित सुमेरु सामुदायिक अस्पताल दर्ता नभएर सुमेरु स्वास्थ्य क्लिनिक प्रा.लि.दर्ता रहेको पाइएपनि अस्पताल भनि लेखिएको,औषधी पसल सञ्चालनमा रहेको,ल्याब र एक्स–रेका साथै भिडियो एक्स–रे समेत सञ्चालन गरेको पाइएको अनुगमन समितिले जनाएको छ।अनुगमनका क्रममा उत्त सुमेरु सामुदायिक अस्पताललाई आफ्नो बोर्डदेखि लिएर दर्ता नभएको सबै कुरा तुरुन्तै हटाउन र बिरामी भर्ना नगर्न कडा निर्देशन समेत समितिले जनाएको छ ।
हरिवन नगरपालिका सामाजिक विकास समितिका संयोजक एवं हरिवन नगरपालिका–८ का अध्यक्ष प्रज्वल ढुंगानाको नेतृत्वमा नगर क्षेत्रका हरिवन नगरपाकिला–११ को लिलावती हस्पिटल प्रा.लि.,हरिवन–११ कै रिसव आयुर्वेदिक पोलिक्लिनिक प्रा.लि.,आर.एम.डाईग्नोष्टिक तथा पोलिक्लिनिक प्रा.लि.,माता मनकामना आयुर्वेदिक क्लिनिक प्रा.लि.,नमुना अस्पताल,ईन्दु आँखा उपचार केन्द्र प्रा.लि,सुमेरु सामुदायिक अस्पताल(सुमेरु स्वास्थ्य क्लिनिक प्रा.लि.),रोजी डेण्टल केयर,मानसरोवर डेण्टल क्लिनिक प्रा.लि. र हरिवन नगरपालिका–११ कै शुभलाभ डेण्टल क्लिनिक प्रा.लि.को अनुगमन गरिएको थियो ।
अनुगमन गरिएका १० वटा निजी स्वास्थ्य संस्थाहरु मध्ये छ वटाले सम्बन्धित निकायबाट सञ्चालन अनुमति लिएको भए पनि तीमध्ये चार वटाले नवीकरण नगरेका पाइएको हो । हरिवन नगरपालिका क्षेत्रमा सञ्चालित केही निजी स्वास्थ्य संस्थाहरुले स्वास्थ्य क्षेत्रलाई सेवामूलक नभई चर्काे नाफामुलक व्यावसायको रुपमा लिई स्थानीय नागरिकको स्वास्थ्य माथि खेलवाड गरेको भन्ने गुनासो पछि नगरस्तरिय अनुगमन समिति तातेको हो ।
निजी स्वास्थ्य संस्था सञ्चालन तथा व्यवस्थापन सम्बन्धी मापदण्ड र निर्देशिका विपरित सञ्चालन नगर्न र आवश्यक अनुमति लिनुपर्ने र समयमै नवीकरण गर्नुपर्ने विषयमा अनुगमनका क्रममा ध्यानाकर्षण गराइएको अनुगमन समितिले जनाएको छ।पछिल्लो समय स्वास्थ्य क्षेत्रलाई सेवामुलक नभई नाफामुलक व्यवसायको रुपमा लिइएको र वैद्यानिकताका सवालहरुमा जताततै गुनासो बढेपछि अनुगमन गरिएको समितिले जनाएको छ।