Close This

जापान पठाउने भन्दै ७ लाख ठगी गरी अनिता फरार, ठगि आरोपमा उजुरी

कमलामाई खबर सम्वाददाता    प्रकाशित: २०७७-५-१८ गते   ३५७ पटक हेरिएको

आकर्षक तलबमा जापान पठाउने भन्दै ७ लाख ठगी गरी फरार रहेकी सिन्धुलीको तीनपाटन गाउँपालिका १० चकमके बजारकी २५ वर्षकी अनिता तामाङ विरुद्ध प्रहरीमा उजुरी परेको छ । 
सुनकोसी गाउँपालिका ४ का सनक बहादुर वाइवा र सर्लाहीको इश्वरपुर नगरपालिका १२ घर भई हाल सिन्धुलीको कमलामाई नगरपालिका ६ रातमाटा बस्दै आएका कुनसाङ दोर्जे लामासँग भिषाको लागि ७ लाख रकम लिएर फरार अनिताको विरुद्धमा उजुरी परेको प्रहरीले जनाएको छ ।
अनिताले वाईवा र लामासंग २०७४ सालमा अग्रीम पैसा लिएकी थिइन । रोजगारीका लागि जापान पठाउने भन्दै ७ लाख ५० हजार ५ सय रुपैया लिएर अनिता फरार भएपछि उनि विरुद्ध  निवेदन परेको हो ।
अनिताले कन्सल्टेन्सीबाट आकर्षक तलवको सुविधा भएको होटलको कुक भिषामा जापान पठाइदिने र मासिक १ लाख तलब कमाई हुने साथै साँढे ६ लाख प्रति ब्यक्ति लाग्ने अश्वासन दिएको पिडितहरुले बताएका छन । यसबापत १४ लाख ५० हजार रुपैयाँ लाग्छ भन्दै सुनकोसी गाउँपालिका ४ का वाइवाबाट पेश्की स्वरुप २ लाख ३४ हजार ५ सय रुपैया नगद र १ लाख रुपैया आइएमी मार्फत तथा सर्लाहीको इश्वरपुर नगरपालिका १२ का लामासँग नगद ३ लाख २३ हजार र अइएमी मार्फत १ लाख ९३ हजार गरी जम्मा ७ लाख १६ हजार रुपैयाँ लिएर विदेश नपठाई सम्पर्क विहीन भएकी थिइन ।
अनिता पैसा लिएर सम्र्पक बिहिन भएपछि न वाईवा र लामाको जापान जाने सपना अधुरो हुनुको साथै साहुको ऋण काढेर दिएको पेश्की रकम पनि डुबेको भन्दै उनि विरुद्ध उजुरी हालेका हुन । धेरै प्रयास गर्दा पनि उनी सम्र्पकमा नआएपछि पिडीतहरुले बाध्य भएर न्यायको लागि र ठगीएको रकम उठाउनको लागि निबेदन हालेको बताएका छन ।
ठगीएका व्यक्तिहरुले सिन्धुलीमा रहेको बैदेशिक रोजगारको लागि सुरक्षित आप्रबासन परियोजना ( सामी) मा ठगी रकम फिर्ता पाउँ भनि २०७६ साल असार २२ गते निवेदन दिएका थिए । पिडीतको निवेदका आधारमा प्रहरीले अनुसन्धान सुरु गरेको भएपनि उनी सिन्धुलीमा बसोबास नगर्ने र परिवारको सम्र्पकमा नभएकोे अनिताका बुबाले बताएका सामी परियोजना सिन्धुलीकी संयोजक सुस्पा भुजेलले जानकारी दिनु भयो ।
संयोजक भुजेलका अनुसार, वाइवा र लामालाई अनिताले यदी जापान पठाउ नसकेमा रकम फिर्ता दिने भनि बैकं खातामा रकम नभएको बाउन्स चेक समेत दिएकी पाइएको छ। लामो समय सम्म पनि अनिता सम्पर्कमा नआएपछि उनि विरुद्ध जिल्ला प्रशासन कार्यालय सिन्धुली मार्फत समन्वय गरि काम कार्बाहिको लागि बैदेशिक रोजगार बिभाग लाई पत्रचार गरेको जिल्ला प्रशासन कार्यालय सिन्धुलीले जनाएको छ ।

© Copyright 2019 Kamalamai Khabar. All rights reserved.
Design & Developed Journey For Tech