सल्यक्रिया गर्दा सुत्केरीको मृत्यु,सरोकारवाला निकाय मौन

2.7k Shares

जिल्ला सदरमुकाम मलंगवाको एक पोलिक्लिनिकमा शल्यक्रिया गर्दा सुत्केरी महिलाको मृत्यु भएको छ । गत शुक्रबार शल्यक्रिया गरिएकी ती महिलाको मंगलबार मृत्यु भएपनि आर्थिक अवस्था अत्यन्त कमजोर रहेको र भनसुन गर्ने कोही नहुँदा घटनाबारे ढिला जानकारी भएको हो । पीडित परिवारले मृतकको मंगलबार दिउँसो नै दाहसंस्कार समेत गरिसकेका छन् ।
राज्यको ऐन कानून अनुसार शल्यक्रिया गर्नका लागि अनुमति नै नपाएको मलंगवा नगरपालिका–९ को अमुत्य पोलिक्लिनिक एण्ड माटरनिटि सेन्टरमा शल्यक्रिया गरिएकी मलंगवा नगरपालिका–१० निवासी २४ वर्षीया सहती कुमारीको मंगलबार मृत्यु भएको हो । उक्त पोलिक्लिनिकले मृत्यु भईसकेकी सहतीलाई थप उपचारको लागि भन्दै जनकपुर रेफर समेत गरेको पीडित परिवारको भनाई छ । बच्चाको स्वास्थ्य अवस्था भने अहिले पनि सामान्य रहेको छ ।
शल्यक्रिया गरेकै पोलिक्लिनिकमा सहतीको मृत्यु भएको मृतकका श्रीमान प्रमोद साहकी दिदी दुलारी देवीको दाबी छ ।पोलिक्लिनिकले झुक्याएर रेफर गरेपछि बाटैमा मृत्यु भएको उनको भनाई छ । 
उक्त पोलिक्लिनिकका सञ्चालक एवं स्त्री तथा प्रसुती रोग विशेषज्ञ डा. सुरेन्द यादवले शल्यक्रिया पश्चात रगत अभावका कारण बिरामीको स्वास्थ्य अवस्था गम्भिर बनेपछि मंगलबार बिहान आफूले जनकपुर रेफर गरेको र उपचारका लागि लैजाँदै गर्दा बिरामीको मृत्यु भएको दाबी गरेका छन् । पोलिक्लिनिकमै शल्यक्रिया गरेको प्रति भने आफ्नो गल्ती भएको डा. यादवले स्वीकार गरेका छन् । सम्बन्धित सरकारी निकायको मौनताका कारण जिल्लाका विभिन्न स्थानमा अनसमति विनाका तथा गैर कानूनी रुपमा  पोलिक्लिनिक र क्लिनिकमै प्रसुती लगायत गम्भिर शल्यक्रिया हुने गरेको स्थानीयको गुनासो छ ।
यसबारे जिल्ला स्वास्थ्य कार्यालय, मलंगवा नगरपालिका लगायत नियमनकारी निकायले जिम्मेवारीबाट पन्छिने बाहेक अन्य कुनै प्रकृया अगाडी बढाएका छैनन् । त्यस्तै प्रमुख जिल्ला अधिकारी सुरेन्द्र पौडेलले पनि घटनाबारे थाहा नै नभएको र पीडित परिवारको उजुरी आए कारबाही प्रकृया अगाडी बढाउने प्रतिक्रिया दिनु भएको छ ।

सम्बन्धित समाचार