Close This

नयाँ मन्त्रिमण्डलमा २ पटक जितेकालाई अवसर दिने शंकेत,सिन्धुलीका सांसद पहाडी पनि मन्त्री बन्ने सम्भावना

कमलामाई खबर सम्वाददाता    प्रकाशित: २०७७-५-२२ गते   ५९५ पटक हेरिएको

दुईपटक प्रत्यक्ष रूपमा निर्वाचित सिन्धुलीका सांसद पहाडी,

नेपाल सरकारले मन्त्री मण्डल पुर्न गठन गर्ने तयारी गरेसंगै मन्त्रिमण्डलमा नयाँ अनुहारलाई मौका दिने चर्चा चल्न थालेको छ । दुईपटक प्रत्यक्ष रूपमा निर्वाचित भएर पनि अहिलेसम्म कुनै अवसर नपाएका सांसदहरू अबको मन्त्री मण्डलमा पर्ने अनुमान भइरहेको छ ।
सिन्धुलीका गणेश कुमार पहाडी, ओखलढुंगाका यज्ञराज सुनुवार, तेहथुमका भवानी खापुङ, खोटाङका विशाल भट्टराई, मकवानपुरका विरोध खतिवडा, डोटीका प्रेम आले, दैलेखका राजबहादुर बुढा, दार्चुलाका गणेश ठगुन्ना दुईपटक प्रत्यक्ष रूपमा निर्वाचित भएका सांसदहरु हुन ।
दुई पटक निर्वाचीत भएर पनि कुनै अवसर नपाएका सांसदहरुको अबभने भाग्य बल्ने देखिएको छ । उनीहरूले मन्त्रीमण्डलमा आफूहरूले मौका पाउनुपर्ने भन्दै बेग्लाबेग्लै ढंगले शीर्ष नेताहरूसँग लबिङसमेत सुरु गरि सकेका  स्रोतको भनाइ छ ।
कतिपय मन्त्रीले राम्रो नतिजा दिन नसकेको, आर्थिक अनियमितताको आरोप लागेको भन्दै सरकारले पार्टीभित्रै आलोचनाको सिकार बनिरहनु परेको छ । त्यसकारण नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष प्रधानमन्त्री केपी शर्मा ओली मन्त्री हेरफेर गर्ने निष्कर्षमा पुग्नु भएको छ । भदौ २६ गते बस्ने नेकपा स्थायी कमिटीको बैठकले कुन कुन मन्त्रीलाई फिर्ता बोलाउने र कुन कुन सांसदलाई मन्त्री बनाउने भन्ने निर्णय हुनेछ ।
नेकपाको पछिल्लो स्थायी समिति बैठकमा पनि कतिपय मन्त्रीहरूका कारण सरकार र पार्टी बदनाम भएको भन्दै मन्त्रिमण्डल पुनर्गठनको आवाज उठेको थियो । पार्टीको समस्या समाधानका लागि गठित ६ सदस्यीय कार्यदलले पनि सरकारलाई प्रभावकारी बनाउन मन्त्रिमण्डल पुनर्गठन गर्नुपर्ने सुझाव दिएको थियो ।
राष्ट्रियसभाको कार्यकाल सकिएकाले अर्थ तथा सुचना सञ्चार मन्त्री डा. युवराज खतिवडाले राजीनामा दिएपछि सो मन्त्रालय पनि खाली भएको छ । उनको राजीनामासँगै ती दुई मन्त्रालय प्रधानमन्त्री आफैंले राख्नु भएको छ । पहिलेदेखि नै खाली सहरी विकास मन्त्रालय पनि प्रधानमन्त्री ओलीसँगै रहेको छ । प्रधानमन्त्रीसँग भएका तीनवटै मन्त्रालयमा नयाँ मन्त्री ल्याउने सम्भावना छ भने पुराना केहीलाई बिदा गर्न लागिएको पनि स्रोतले जनाएको छ । सुरुमा मन्त्री भएका धेरैजसोलाई बिदा गर्ने तयारी भइरहेको बुझिएको छ ।
सुरुमा मन्त्री हुनेमा ईश्वर पोखरेल, प्रदीप ज्ञवाली, रामबहादुर थापा ‘बादल’, डा.युवराज खतिवडा, गिरिराजमणि पोखरेल, शक्ति बस्नेत, वर्षमान पुन, पद्मा अर्याल र बिना मगर फेर बदलको लिस्टमा रहेका छन । उपप्रधान तथा रक्षामन्त्री पोखरेल, गृहमन्त्री बादल, खानेपानीमन्त्री मगर, वन तथा वातावरणमन्त्री बस्नेत, भूमि व्यवस्थामन्त्री अर्याल, शिक्षामन्त्री पोखरेलले राम्रो काम गर्न नसकेको विश्लेषण भएको बुझिएको छ । स्रोतका अनुसार पछिल्लो पटक मन्त्री भएकामध्ये नतिजा दिन नसकेका भन्दै श्रममन्त्री रामेश्वर राय यादवलाई पनि फिर्ता बोलाउन लागिएको छ ।
प्रधानमन्त्री  ओलीको चाहना नयाँलाई अवसर दिएर सरकारलाई नतिजामुखी बनाउने नै हो । तर उपाध्यक्ष वामदेव गौतमलाई मन्त्री बनाउनकै लागि राष्ट्रिय सभामा मनोनीत गर्ने निर्णय गरिसकिएको छ । तर उनलाई मन्त्रिमण्डलमा लान कानुनी अड्चन रहेको छ । संविधानमा निर्वाचन हारेकालाई सरकारमा समावेश गर्न नसक्ने उल्लेख छ । यस्तो अवस्था आइहाले गौतम पत्नी तुलसालाई मन्त्रिमण्डलमा समावेश गर्न सक्ने आँकलन गरिएको छ । भीम रावललाई पनि सरकारमा सहभागी गराउनुपर्ने बाध्यतामा प्रधानमन्त्री ओली रहनु भएको छ ।

© Copyright 2019 Kamalamai Khabar. All rights reserved.
Design & Developed Journey For Tech