Close This

प्रहरीकै कारण रोकिएन नदी दोहन 

कमलामाई खबर सम्वाददाता    प्रकाशित: २०७७-५-२५ गते   २६२ पटक हेरिएको

नदी दोहन गरी निकासी पैठारी हुँदै गर्दाको अवस्था फोटो रितिक अधिकारी

जिल्लामा  निषेधाज्ञाका समयमा पनि नदी दोहन निरन्तर भइरहेको छ । खाद्यान्न तथा दैनिक अतिआवश्यक वस्तु, फलफूल, तरकारी, दूध र दुग्ध पदार्थ मात्र ओसारपसार गर्न छुट दिइएका अवस्थामा समेत जिल्लाका विभिन्न नदीबाट निर्बाधरूपमा नदी दोहन भइरहेको छ ।
असार, साउन र  भदौमा नदीजन्य पदार्थ निकासी पैठारी गर्न नमिल्ने भए पनि स्थानिय निकाय र प्रहरीको बीचमा तालमेल नै नमिल्दा नदीजन्य पदार्थ दोहन भइरहेको जनाइएको छ । दिउँसो थोरै मात्रामा मालवाहक सवारी साधनले नदी दोहन गरे पनि रातको समयमा सयौँको सङ्ख्यामा नदीमा पस्ने र नदीजन्य पदार्थ निकासी पैठारी गर्ने गरेका छन् । जिल्लाको चापिनी, लखनदेही, कालीन्जोर, फुलजोर तथा बाँकेखोलामा यसरी नदीजन्य पदार्थ निकासी पैठारी भइरहँदा पनि सरोकारवाला निकाय मौन देखिएका छन् । भने तल्लो तहका प्रहरी कर्माचारीहरु खोलामै गएर कमिसन लिने र छाड्ने गरेको निर्माण व्यवासायीहरु कै भनाई छ ।
निर्माण व्यावसायीहरु तथा यातायात व्यावसायीहरुले नदी जन्य पदार्थ निकासी रोकिएको असार,साउन र भदौमा पनि नदी दोहन गर्ने संकलन गर्ने तथा पहिलाको तुलनामा महंगोमा विक्रि वितरण गर्ने गरेका छन । पहिला टिपको ७ सयमा विक्रि हुने बालुवा अहिले १५ सय सम्ममा विक्रि वितरण गरेका छन ।
जुन जुन यातायात व्यावसायीहरुले प्रहरीलाई कमिसन दिन्छन उनिहरुका सवारी साधनलाई प्रहरीले नियन्त्रणमा नलिने र कमिसन नबुझाउने यातायात व्यावसायीहरुलाई पटक पटक दुख दिने गरेको यातायात व्यावसायीको गुनासो छ । प्रहरी निरिक्षक तथा प्रहरी प्रमुखको नाममा भान्सेदेखि चालक सम्मका प्रहरी कर्माचारीहरुले कमिसन खाने गरेका स्रोतले बताएको छ ।
आफूहरुले आफ्नो घर बनाउन एक÷दुई खेप बालुवा निकाल्दा पनि प्रहरीले अनेकौँ बहाना बनाएर दुःख दिने गरेको स्थानीयवासीले बताएका छन् ।  तर व्यवसायीहरुले व्यावसायिकरूपमा नदी दोहन गर्दा पनि प्रहरी प्रशासन मौन बसेको  उनीहरुको आरोप छ ।  तर प्रहरीले पटक पटक नदी दोहनका लागि खोलामा गएका सवारी साधनलाई नियन्त्रणमा लिएर सम्बन्धीत स्थानिय निकायलाई जिम्मा लगाउने गरेको दाबी गरेको छ । प्रहरीले यसरी नियन्त्रणमा लिएका सवारी साधनहरुलाई पत्रलेखि सम्बन्धीत स्थानिय निकायमा पठाउने  र प्रति सवारी साधन २ हजार जरिवाना गराउने गरेको ईलाका प्रहरी कार्यालय लालबन्दीका प्रहरी प्रमुख प्रहरी निरिक्षक नारायण थापाले जानकारी दिनुभयो । तर प्रहरीले जति नियन्त्रणमा लिएर कार्बाही गरेको भएपनि नदी दोहन नरोकिएको, यातायात व्यावसायीहरु तथा निर्माण व्यावसायीहरुले अटेर गरेका प्रहरीले  जनाएको छ ।

© Copyright 2019 Kamalamai Khabar. All rights reserved.
Design & Developed Journey For Tech