हरिवन नगरपालिकाले खेर गएको बगरमा औधोगिक ग्राम स्थापना गर्ने भएको छ । नदीले बगर बनाएको ठाँउमा जमिन खेर जाने र तत्काल नियन्त्रणमा लिन नसके झनै कटान गर्ने भएकोले हरिवन नगरपालिकाले खेर गएको जमिनमा औधोगिक ग्राम बनाउने भएको हो ।
हरिवन नगरपालिका–११ चापिनीमा खोलाले कटान गरेको जमिनमा औधोगिक ग्राम बनाउन लागिएको हरिवन नगरपालिकाका नगर प्रमुख गणेश प्रसाईले बताउनु भयो । जमिनको अभावमा उद्योग स्थापना गर्न समस्या देश भरिनै भइ रहेको अवस्थामा हरिवनले त्यस्तो खेरजाने जमिनको सदुपयोग गर्न लागेको हो ।
संघीय सरकारले लिएको नीति एक स्थानीय तह एक औधोगिक ग्राम अन्र्तगत हरिवनमा औद्योगिक ग्राम बन्न लागेको हो । जसका लागि संघीय सरकारले गत आर्थिक वर्षमा पठाएको १ करोडबाट जग्गा अतिक्रमण तथा पर्खाल लगाउने र खोला नियन्त्रणको काम सकिएको हरिवन नगरपालिकाका इन्जिनियर जकी अहमद सिद्दकीले बताउनु भयो ।
करिब ८ बिगाह क्षेत्रफलमा स्थापना हुन लागेको औधोगिक ग्राममा हरिवन क्षेत्रमा व्यापार व्यवसाय सञ्चालन गर्दै आएका व्यवसायीलाई आफ्नो व्यवसाय सञ्चालन गर्न सहज हुने र हरिवन नगरपालिकाको आर्थिक विकासमा मद्धत पुग्ने हरिवन नगरपालिकाकीउप प्रमुख रेणुका पौडेलले बताउनु भयो ।
यसरी एकै ठाँउमा व्यवसाय, उद्योग सञ्चालन तथा खरीदको काम हुन पाउँदा समयको बचतसँगै उचित मूल्यमा सामान किनमेल गर्न सकिने भन्दै स्थानिय व्यापारीहरु पनि खुसी भएका छन । नदीले कटान गरेको जमिनको सदुपयोग गर्दा कृषियोग्य तथा वनको जमिन सुरक्षित रहने मात्र नभै कलकारखाना स्थापनाले बेरोजगारीको समस्या समेत हल हुने नगरप्रमुख प्रसाइले बताउनु भयो ।