Close This

सर्लाहीमा थपिए ८२ कोरोना संक्रमित, जिल्लामा कोरोना संक्रमित करिब २ हजार

कमलामाई खबर सम्वाददाता    प्रकाशित: २०७७-५-२७ गते   ४११ पटक हेरिएको

सर्लाहीमा १३० जनाको पीसीआर परीक्षण गर्दा ८२ जनामा कोरोना सङ्क्रमण पाइएको छ । जिल्ला सदरमुकाम मलङ्गवामा गत सोमवार २५१ जनाको थ्रोट स्वाब सङ्कलन गरिएको थियो । त्यसमध्ये प्रादेशिक प्रयोगशाला जनकपुरबाट शनिवार साँझसम्म १३० जनाको पीसीआर परीक्षण रिपोर्ट प्राप्त हुँदा ८२ जनामा कोरोना सङ्क्रमण पुष्टी भएको जिल्ला जन स्वास्थ्य कार्यालय सर्लाहीले जनाएको छ ।
थ्रोट स्वाब पठाएकोमध्ये अब १२१ जनाको रिपोर्ट प्राप्त हुन बाँकी रहेको छ । शनिवार प्राप्त रिपोर्टले समुदाय स्तरमै व्यापक रुपमा कोरोनाको सङ्क्रमण फैलिसकेको पुष्टी भएको जिल्ला जन स्वास्थ्य कार्यालय, सर्लाहीका कोभिड १९ फोकल पर्सन सुशील झाले बताउनुभयो ।पछिल्लो समय सरकारले संक्रमितहरुलाई घरमै राख्न जोड दिएको र सङ्क्रमित स्वयंले पनि घरमा नै बस्न रुचाउने तर स्वास्थ्य मापदण्डको पालना नगरी जथाभावी हिँड्डुल गर्दा सङ्क्रमण फैलिने क्रम तीव्र रुपमा बढेको  चिकित्सकहरुले बताएका छन् । शनिवार ८२ जना नयाँ सङ्क्रमित थपिँएसंगै सर्लाहीमा कोरोना संक्रमितको सङ्ख्या १ हजार ९ सय ९४ पुगेको छ । तीमध्ये १ हजार ९० जना डिस्चार्ज भई घर फर्किएका छन् ।
यसैबीच ईश्वरपुर नगरपालिकामा शनिवार एक जना वडाध्यक्षसहित ३२ जना कोरोना संक्रमितलाई डिस्चार्ज गरिएको छ । १५ देखि २८ दिनसम्म आइसोलेसनमा बसेका सङ्क्रमितहरुलाई शनिबार स्वास्थ्य परीक्षण गर्दा कोरोनाको कुनै लक्षण नदेखिएपछि डिस्चार्ज गरिएको नगर प्रमुख मनोज कुमार देवकोटाले जानकारी दिनुभयो । डिस्चार्ज हुनेहरुमा वडा न १४ का वडाध्यक्ष रामपुकार महतो लगायत रहेका छन  । कोरोना सङ्क्रमणबाट सर्लाहीमा अहिलेसम्म मलङ्गवामा दुई, लालबन्दी र चक्रघट्टामा एकएक जना गरी ४ जनाको मृत्यु भएको छ ।

© Copyright 2019 Kamalamai Khabar. All rights reserved.
Design & Developed Journey For Tech