नौकुण्ड पर्यटकीय क्षेत्रको डिपिआर निर्माणको चरणमा छ ः उपाअध्यक्ष लामा

3.4k Shares

रसुवाको नौकुण्ड गाउँपालिकाकी उपाध्यक्ष सिर्जना लामाको नेतृत्वमा नौकुन्ड–गोसाइँकुण्ड पर्यटन पदमार्गको सम्भाब्यता अध्ययन तथा डिपिआर निर्माण हुने भएको छ । ‘हजार माइलको यात्रा एक पाईलाबाट सुरु हुन्छ ।’ भनेझै नौकुण्डलाई पर्यटनको माध्यमबाट विकसित गर्दै पदमार्गको डिपिआर बनाउने काममा यतिबेला नौकुण्ड गाउँपालिका लागि परेको छ । 
प्राविधिक सहितको टोलीले कोरोना महामारीको बेलामा ४ दिनको सर्भेक्षणपछि डिपिआर बनाउने कामको अन्तिम तयारी गरेको गाउँपालिका उपाध्यक्ष लामाले बताउनु भयो ।


नौकुन्ड गाउकार्यपालिकाको निर्णय अनुसार उपाध्यक्ष लामाको नेतृत्वमा प्राविधिक टिम र नौकुन्ड समाज कल्याण तथा पर्यटन प्रबर्द्धन समाजका प्रतिनिधिहरु सहित नौकुन्ड–गोसाईकुण्ड पर्यटन पदमार्गको सम्भाब्यता अध्ययन तथा डिपिआरको लागि नौकुण्डसम्म जान दुई ओटा रुटको अध्ययन गरेको छ ।
जसमा नुवाकोटको सात तले दरबारदेखि सुरु भई रसुवाको नौकुण्ड गाउँपालिका ४ हुँदै सरमथली–पाटीखर्क–पार्च्याङ–लार्च्याङटार–यार्सा–सिम्बन्दी–दोक्लाङ हुँदै नौकुन्डको रमणीय स्थलसम्म पुग्न सकिन्छ । नुवाकोटबाट पहिलो दिनमा सरमथली, सरमथलीबाट दोस्रो दिनमा सिम्बन्दी पुग्न सकिन्छ ।  सिम्बन्दीबाट तेस्रो दिनमा नौकुण्ड पुग्न सकिन्छ । चौंथो दिनमा गोसाइकुण्ड पुग्न सकिन्छ । एक हप्ताको यात्रामा जान आउन सकिने गाउँपालिकाले जनाएको छ ।
नौकुण्ड जाने अर्को बाटो रसुवाको उत्तरगयाधाम बेत्रावतीबाट अम्बास–आँपचौर–सर्स्यु–लोकिल–जुरेढुंगा–बिजुलीढुंगा–लाङ्बु–थाङदोर–सिम्बन्दी–देउराली–बालुवा–बक्सार हुँदै नौकुण्ड पुग्न सकिन्छ । उत्तरगयाधामबाट पहिलो दिनमा लोकिलसम्म पुग्न सकिन्छ । दोस्रो दिनमा सिम्बन्दीहुँदै देउरालीसम्म पुग्न सकिन्छ । यो रुटबाट जाँदा ५–६ दिनमा जान आउन सकिन्छ । नुवाकोट र रसुवाको यी दुई स्थानबाट नौकुण्ड पदमार्ग हुँदै गोसाइकुण्ड पुग्न सकिन्छ । बीचमा नौकुण्ड नजिकै सातधारे हिमाल पनि देख्न सकिन्छ । हतार हुनेहरुका लागि गाडीमा सिम्बन्दीसम्म गएर नौकुण्ड हुँदै गोसाईकुण्ड पुगेर ३ दिनमै यात्रा पुरा गर्न सकिन्छ ।
नौकुण्डमा नौ ओटा ताल रहेका छन् । पर्यटकीय हिसावले नौकुण्ड एकदमै रमणीय र सुन्दर रहेको छ । अहिलेसम्म गोसाइकुण्डको मात्र प्रचारप्रसार भएको छ । नौकुण्डलाई पर्यटकिय क्षेत्रको रुपमा विकास गर्न नौकुण्ड गाउँपालिका अहिले लागिरहेको छ । गाउँपालिका पर्यटन विकासको लागि दिनरात नभनी लागिपरेको छ । आन्तरिक तथा बाह्य पर्यटकहरुलाई देखाउनका लागि गाउँ–गाउँबाट पदमार्गको रुट बनाइएको छ । फरक–फरक संस्कृति र रहनसहन पर्यटकले देख्न पाउनुका साथै होमस्टे, होटल सञ्चालन, टुरिस्ट गाइड र व्यवसाय गर्न चाहनेहरुका लागि पनि रोजगार मिल्ने भएकाले नौकुण्ड हुँदै गोसाइकुण्ड जाने पदमार्ग निर्माणको डिपिआर तयारको लागि अघि बढेको गाउँपालिकाकी उपाध्यक्ष लामाले बताउनुभयो ।
“ओझेलमा रहेको नौकुन्डलाई अगाडि ल्याउन यो हाम्रो पहिलो पाइला सफल भएको अनुभुति भएको ” गाउँपालिका उपा अध्यक्ष लामाले बताउनुभयो । नौकुण्ड गाउँपालिकामा ९ ओटा कुण्ड रहेका छन् । सबैभन्दा माथिको कुण्डको हाइड ४ हजार ५  सय मिटर रहेको छ । त्यहाँ सातधारे हिमाल पनि रहेको छ । करिव ५ हजार ५ सय मिटरमा सातधारे हिमाल रहेको बुझिन्छ । नौकुण्ड जानका लागि लार्च्याङटारमा एउटा ठूलो फाँट रहेको छ । लार्च्याङटार–पाटीखर्क र निर्कुभुमे, न्हेगाङ सुरुङ, जुरेढुंगा–बिजुलीढुंगाको विशेषता भनेको धार्मिक पर्यटकीय महत्व रहेको छ । त्यहाँबाट पर्यटकहरुका लागि धेरैभन्दा धेरै भ्यू देखिनुका साथै सहज बाटो रहेको छ । गोसाईकुण्ड जाँदा धुन्चेबाट ठाडो उकालो चढेर जानुपर्ने अवस्था रहेको हुँदा बाटोमा पहिरोको समस्या आइरहन्छ ।
नौकुण्डबाट जाँदा तेर्सो–उकालो सहितको सजिलो बाटो भएकाले सुरक्षित तरिकाले पुग्न सकिन्छ । नौकुण्ड हुँदे गोसाईकुण्ड जाने पदमार्गको डिपिआर बनाउँदा बाटोहरुमा ढुंगाको छिँडी , केही दूरीमा मानिस बसोबास गर्ने पाटीहरु, खानेपानीको व्यवस्था र शौचालयको साथै पदमार्ग गर्ने यात्रुलाई बीचमा कुनै स्वास्थ्य समस्या भएमा तत्कालै उद्धार गर्नका लागि हेलीप्याडको व्यवस्था समेत हुने भएको छ ।
अहिले नेपाल सरकार पर्यटन मन्त्रालयबाट स्थानीय तह र संघीय सरकारको साझेदारीमा पर्यटन प्रवद्र्धन कार्यक्रमका लागि सूचनाहरु प्रकाशन भइरहेको हुँदा हाम्रो यस अभियानमा पर्यटन बोर्ड, टान, नुवाकोट–रसुवा पर्यटन समाज, पर्यटन स्म्बन्धी संघरसंस्थाहरुको साथ सहयोगको आसा गरेको छौं । गाउँपालिका उपाध्यक्ष लामाले बताउनु भयो ।
गाउँपालिका भित्रका नागरिकहरुको जीवनस्तर उकास्नका लागि पर्यटन विकासले मद्दत पु¥याउनेछ । त्यस क्षेत्रका कला, संस्कृतिलाई विश्वमा देखाउनुका साथै यस क्षेत्रको विकासका लागि पदमार्गले नौकुण्डका सबै वडाहरुलाई जोडेको छ ।नौकुण्ड जाने बाटोहरुमा भेडी गोठ र चौरी गोठहरु रहेका छन् भने चौंरिको चिज, छुर्पी, दुर्खा पनि पाइन्छ । लाम कुन्ड, राजा कुन्ड, रानी कुन्ड, शिर कुन्ड, तेम कुन्ड, दि कुन्ड, कृष्ण कुण्ड, कुदाब ग्यो (चुल्हो कुन्ड), एक्ले कुन्ड नौकुण्डका नामहरु रहेका छन् । 
जसमा नौकुन्डबाट काठमाडौ उपत्यका, रसुवा, नुवाकोट, सिन्धुपाल्चोक, दोलखाको गौरीशंकर हिमाल, लाङटाङ हिमाल, गणेश हिमाल, दोर्जे लाक्पा हिमाल, यलपिक हिमालहरुको दृश्य सजिलै अवलोकन गर्न सकिने उपाअध्यक्ष लामाले बताउनु भयो ।

सम्बन्धित समाचार