सर्लाहीका ५ जना प्रहरी निरीक्षकहरुको सरुवा भएको छ । सोमबार प्रहरी प्रधान कार्यालयले गरेको सरुवा सूची अनुसार सर्लाहीका ५ जना ईन्स्पेक्टरको सरुवा भएको हो । एकजना ईन्स्पेक्टरले भने उमेरहदका कारण अनिवार्य अवकाश पाएका छन् ।
ईलाका प्रहरी कार्यालय लालबन्दी, हरिवन,बरहथवा र जिल्ला प्रहरी कार्यालय मलंगवाका दुई, जना ईन्स्पेक्टरहरुको सरुवा भएको हो । जिल्ला ट्राफिक प्रहरी कार्यालय नवलपुरका प्रमुख प्रहरी निरीक्षक सूर्यनारायण यादवले उमेर हदका कारण मंगलबार नै अनिवार्य अवकाश पाएका छन् । उनको ठाउँमा ईलाका प्रहरी कार्यालय गरुढा रौतहटबाट ईन्स्पेक्टर केदारमान दोङलाई खटाईएको छ ।
जिल्ला प्रहरी कार्यालयको मुद्धा फाँटमा कार्यरत उमाशंकर प्रसाद गुप्ताको ईलाका प्रहरी कार्यालय बारागढी बारामा सरुवा भएको छ भने उनको स्थानमा राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान महाराजगंज काठमाडौंबाट ईन्स्पेक्टर कृष्ण गिरी आउने भएका छन् । त्यसैगरी ईलाका प्रहरी कार्यालय लालबन्दीका ईन्स्पेक्टर नारायण थापाको प्रहरी प्रधान कार्यालय भर्ना छनौट महाशाखा नक्साल काठमाडौंमा सरुवा भएको छ । उनको ठाउँमा महानगरीय प्रहरी वृत कालिमाटी काठमाडौंबाट निर्मल थापा आउने भएका छन् ।
त्यस्तै प्रहरी प्रधान कार्यालय राजमार्ग सुरक्षा तथा ट्राफिक निर्देशनालय नक्साल काठमाडौंमा दरबन्दी भई ईलाका प्रहरी कार्यालय हरिवनमा काजमा रहेका ईन्स्पेक्टर राजेन्द्र कुमार उपाध्यायको अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा सरुवा भएको छ भने ईप्रका हरिवनको प्रमुखको रुपमा २ नं. प्रदेश सशस्त्र प्रहरी गण मुख्यालय जनकपुर धनुषाबाट ईन्स्पेक्टर अवधेश कुमार यादव आउने भएका छन् ।
त्यसैगरी जिल्ला प्रहरी कार्यालय मलंगवामा कार्यरत ईन्स्पेक्टर राजुप्रसाद कुर्मीको अख्तियारमै सरुवा भएको छ भने कुर्मीको स्थानमा ईलाका प्रहरी कार्यालय पटेर्वा पथरी पर्साबाट ईन्स्पेक्टर दीपक चोरवारलाई सरुवा गरिएको छ ।
त्यस्तै बरहथवास्थित ईलाका प्रहरी कार्यालयका ईन्स्पेक्टर राजेन्द्र प्रसाद यादवको जिल्ला प्रहरी कार्यालय रौतहट सरुवा गरिएको छ भने उनको ठाउँमा ईलाका प्रहरी कार्यालय बारागढी बाराबाट ईन्स्पेक्टर नरेन्द्र कुमार मोरवैता आउने भएका छन् । ईप्रका बरहथवामा केही दिनअघि मात्र प्रहरी नायब उपरीक्षक (डीएसपी) लाई कार्यालय प्रमुखको रुपमा खटाईएको छ ।
बयलवास, हरिपुर र गडहीया डुमरीयामा रहेका ईलाका प्रहरी कार्यालयका ईन्स्पेक्टरको भने सरुवा भएको छैन् । यहाँबाट सरुवा भएका ईन्स्पेक्टरहरु असोजदेखिनै सरुवा गरिएकै स्थानमा गएर तलब खानेगरी केही दिनमै जाने र नयाँ ईन्स्पेक्टरहरु दुईरचार दिनभित्रै आ–आफ्नो ठाउँमा नेतृत्व सम्हाल्न आइपुग्ने जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रहरी प्रमुख प्रहरी उपरिक्षक सन्तोष सिंह राठौरले जानकारी दिनु भयो । प्रहरी प्रधान कार्यालयले सोमबार ४८८ जना भन्दा बढी ईन्स्पेक्टरहरुको सरुवा गरेको छ ।