Close This

अविरल वर्षाका कारण सर्लाही जलमग्न,एक घर भत्कीयो

कमलामाई खबर सम्वाददाता    प्रकाशित: २०७७-६-८ गते   ३०१ पटक हेरिएको

विगत २ दिन पहिलादेखि परेको अविरल वर्षाले जिल्लाका विभिन्न स्थान जलमग्न बनेको छ । केही छिन रोकिएपनि मंगलबार राती देखि निरन्तर परिरहेको वर्षाले जिल्लाका विभिन्न स्थान जलमग्न भएको छ ।  निकास बिनाको बिकासको कारण पनि लालबन्दी,हरिवन, बागमती  र इश्वरपुर नगरपालिकाका लगायत जिल्लाको विभिन्न स्थान जलमग्न बनेको हो ।
 पानी बग्नका लागि ह्युमपाईप, लच्का, कल्भर्ट जस्ता निकासको उपाय नअपनाई अग्लो पारेर बनाईएका कालोपत्रेले पछिल्लो समय जताततै डुबान हुन थालेको स्थानीय बासिन्दाले गुनासो गरेका छन् ।
निकास बिनाको विकासले पछिल्लो समय जिल्लाका मुख्य तथा शाखा सडक खण्डहरुका लच्कामा ठूलो बाढी आउन थालेको स्थानियले बताएका छन  । सम्बन्धित निकायले निकास सहितको विकासका लागि उचित ध्यान नदिँदा जिल्लाको उत्तरी क्षेत्रमा समेत डुबानको समस्या बढ्न थालेको स्थानियको भनाई छ भने अविरल वर्षाका कारण सर्लाहीको हरिपूर्वा नगरपालिका ४ मा एक घर भत्केकोे छ । हरिपूर्वा नगरपालिका–४ साहपुरका फेकन वैठाको खपडाले छाएको एकतले कच्ची घर भत्कीदा तीनलाख रुपैंया बराबरको क्षति भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । 
वर्षाको पानी जमेका कारण विहिबार वैठाको घर भत्केको हो । मानविय तथा पशु चौपाया भने क्षति नभएको प्रहरीले जनाएको छ ।

जिल्लाका अन्य स्थानमा कतै कुनै क्षति नपुगेको जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रहरी प्रमुख प्रहरी उपरिक्षक सन्तोष सिंह राठौरले जानकारी दिनु भयो । त्यस्तै बागमती नदीमा अन्य दिनको तुलनामा ठूलो बाढी आएपनि खतराको तहमा भने नपुगिसकेको ईलाका प्रहरी कार्यालय कर्मैयाले जनाएको छ ।

विहिबार बिहानदेखि बागमतीमा पानीको बहाब बढेर साँढे ५ मिटर उचाईसम्म पुगेको ईलाका प्रहरी कार्यालय कर्मैयाका प्रहरी प्रमुख प्रहरी नायब निरीक्षक मोहन कटुवालले जानकारी दिनु भयो । भुँईबाट पानीको सतह साँढे ६ मिटर पुगेपछि भने बागमती सिचाईं आयोजनाको ब्यारेजमा खतराको रातो झण्डा उठाउने गरिएको छ ।

© Copyright 2019 Kamalamai Khabar. All rights reserved.
Design & Developed Journey For Tech